तारकेश्वरकी एरिकाले एशियाली खेलमा रजतपदक पाएपछि मेयरले दिए बधाई

तारकेश्वर, २२ असोज । तारकेश्वर नगरपालिका वडा नं ९ मा बस्ने कराँते खेलाडी एरिका गुरुङले चिनको हाङजाउमा जारी १९ औं एशियाली खेलमा नेपालका तर्फबाट ऐतिहासिक रजतपदक प्राप्त गरेपछि तारकेश्वर नगरपालिकाले उनलाई बधाई दिएको छ ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले विगत १० वर्षदेखि मनमैजु डोजोमा कराँते अभ्याँस गर्दै आएकी गुरुङलाई बधाई दिएका हुन् । धादिङ घर भएकी १९ वर्षीया गुरुङले शविार सम्पन्न महिला ६८ किलो तौल समूहको सेमिफाइनलमा गुरुङले हङकङकी यान काई होलाई पराजित गरेकी थिइन्। गुरुङले यान काई होलाई ८–४ अङ्कले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन् । शनिवार नै भएको क्वाटरफाइनल खेलमा गुरुङले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरिन् । दुवैबीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ पहिलो अङ्क जोडेको आधारमा विजयी भएकी थिइन्।

फाइनलमा भने गुरुङ काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित ३–० अङ्कले पराजित भइन् । नेपाललाई करातेमा एसियाली खेलकुदमा रजत पदक दिलाउने उनी पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । गुरुङले तारकेश्वरकै अजिमा कवर्डहलमा कराँते सिकाउँदै आएकी छिन् ।