देशकै उत्कृष्ट नुवाकोटको त्रिशुली अस्पतालको आफ्नै भित्री दु:ख !

नुवाकोट ८, चैत । हालै नुवाकोटको त्रिशुली अस्पताल न्युनतम सेवा मापदण्डमा गुणस्तर सुधारका लागि देशकै उत्कृष्ट अस्पताल भएको छ ।
न्युनतम सेवा मापदण्डमा त्रिशुली अस्पतालले ८८ प्रतिशत अंक ल्याएर देशभरिकै उत्कृष्ट अस्पताल बन्न पुगेको हो ।देशको उत्कृष्ट अस्पताल भएको भएपनि भित्री वास्तविकता भने अर्कै रहेको खुल्न आएको छ ।
अस्पतालको विभिन्न पक्षको स्कोरिङ गर्दा सबैमा अस्पतालले उत्कृष्ट अंक प्राप्त गर्न सकेको देखिँदैन ।
देशको उत्कृष्ट अस्पतालको क्यानटीनको स्कोरिङमा ५० प्रतिशत मात्रै प्राप्त भएको छ । यो ५० प्रतिशत भनेको अत्यन्तै न्यून भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
क्यान्टीन व्यवस्थापन, गुणस्तरीय र बिरामी मैत्री नभएको बताइएको छ । हाल सन्चालन भइरहेको अस्पताल क्यान्टिन व्यवसायीले चलाइएको र अस्पतालले त्यसमा कुनै निगरानी राख्न नसक्ने अवस्था भएकोले आगामी दिनमा क्यान्टिन अस्पताल आफैँले सन्चालन गर्ने अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए ।
मानवस्रोत व्यवस्थापनमा ९३ प्रतिशत प्राप्त, अस्पताल भन्छ दरबन्दी पुरा चिकित्सक छैनन्
मानवस्रोत विकास तथा व्यवस्थापनमा त्रिशुली अस्पतालले ९३ प्रतिशत अंक प्राप्त गरेको भएपनि दरबन्दी अनुसारको पुरा चिकित्सक नभएको अस्पताल प्रशासनले जनाएको छ ।
हाल अस्पतालमा १० जनाको सङ्ख्यामा मात्र विशेषज्ञ डाक्टरहरु रहेका छन् । बाल रोगको १ जना , हाडजोर्नी विशेषज्ञ २ जना, स्त्री रोग विशेषज्ञ २ जना, एमबिजिपी २ जना, फिजिसियन १ जना, रेडियोलोजीस्ट लगायतका विशेषज्ञ डाक्टर न्युन संख्यामा रहेका छन ।
अस्पतालमा हाल दुईवटा भ्यानटिलेटरसहित १० शैयाको आईसियु रहेको न्यौपानेले जानकारी दिए । दरबन्दी अनुसार त्रिशुली अस्पतालमा ५९ जना स्वास्थ्य कर्मचारी हुनुपर्ने भए पनि हाल २९ जना मात्रै छन ।
अस्पतालबाट निस्कने फोहोरमैला व्यवस्थापनको समस्या पनि अस्पतालले झेलिरहेको न्यौपाने बताउँछन् । अस्पतालले पुनः प्रयोग गर्न सकिने सामानको निर्मलीकरण गर्न नसकेको उहाँ बताउँछन ।
कमाईको कुरादेखि, डाक्टर जिल्ला बस्न नमान्ने समस्या
नुवाकोटको प्रादेशिक अस्पताल त्रिशुलीमा जाने अधिकांश डाक्टरहरु कमाई नहुने भन्दै केहि समय काम गरेर बाहिर जिल्ला जाने समस्या रहेको अस्पताल बताउँछ । कतिपय डाक्टरहरु खबर पनि नगरी भाग्ने गरेका छन् ।
“डाक्टरहरु सेवा र सुविधा खोज्छन्,जुन सेवा सुविधा सरकारले गराउनुपर्ने हो , अस्पताल त्यसमा सामर्थ्य छैन यो नै मुख्य समस्या भएको छ ।”– न्यौपाने भन्छन् ।
प्रदेश स्तरीय अस्पताल भएपनि संघले कर्मचारी व्यवस्थापन गर्ने हुँदा संघ र प्रदेशबीच कर्मचारी व्यवस्थापनमा समन्वयको आभाव देखिन्छ।
क्लिनिकल सेवा व्यवस्थापनमा भने त्रिशुली अस्पतालले अत्यन्तै राम्रो सुधार गरेको छ ।
अस्पतालको बहिरङ्ग विभाग सेवा (ओपिडी) मा अधिकतम २७ अंकको परीक्षणमा २५ अंक प्राप्त गरेको छ भने ड्रेसिङ इन्जेक्सन र अन्य सेवाहरुमा अधिकतम स्कोर २० मा २० अंक नै प्राप्त गरेको छ।
दन्त उपचार सेवामा पनि अस्पतालले राम्रो व्यवस्थापन गरेको छ। समग्रमा क्लिनिकल सेवा व्यवस्थापनमा अस्पतालले राम्रो गरेको पाइएको हो ।
८ चैत्र २०७७, आईतवार