हाम्रो डक्टर छैठौं वर्षमा प्रवेश, वेबसाइट र एपको नयाँ संस्करण सार्वजनिक
तारकेश्वर ११, चैत । नेपालको पहिलो अनलाईन हेल्थकेयर प्लेटफर्म हाम्रो डक्टरले स्थापनाको पाँचौ वर्ष पूरा गरि मंगलबार छैठौं वर्षमा प्रवेश गरेको छ ।
वर्षगाँठको विशेष अवसरमा हाम्रो डक्टरले आफ्नो वेभसाइट र मोबाइल एप्लिकेशनको नयाँ संस्करण पनि सार्वजनिक गरेको छ । संस्थाले मंगलबार राजधानीमा वार्षिकोत्सव समारोह आयोजना गरि वेभसाइट र मोबाइल एप्लिकेशनको नयाँ संस्करण सार्वजनिक गरेको हो ।
नयाँ संस्करणको एप्लिकेशनको वरिष्ठ उद्योगी महेश प्रधान र हाम्रो डक्टरका अध्यक्ष उद्धवराज भेटुवालले संयुक्त रुपमा उद्घाटन गरे । हाम्रो डक्टरको नयाँ संस्करण पुराना संस्करणभन्दा आकर्षक र प्रयोगकर्तामैत्री रहेको छ ।
वार्षिकोत्सव कार्यक्रममा हाम्रो डक्टरका संस्थापक अध्यक्ष भेटुवालले नयाँ संस्करणको एप्लिकेशन र वेभसाइटमा सेवाका प्रकारहरु थप गर्नुका साथै थप प्रयोगकर्तामैत्री बनाइएको जानकारी दिए ।
सो अवसरमा हाम्रो डक्टरका निर्देशक तथा प्राविधिक प्रमुख अशोक बस्नेतले नयाँ संस्करणको मोबाइल एप्लिकेशन र वेभसाइटबाट प्रयोगकर्ताले एक क्लिकमै चिकित्सकसँग अनलाईन परामर्श, अस्पतालको समय र टिकट खरिद, स्वास्थ्यका प्याकेजहरुको खरिद गर्ने लगायत सेवा लिन धेरै सहज भएको बताए ।
साथै हाम्रो डक्टरमार्फत सेवा बिक्रेताहरु जस्तै, अस्पताल, क्लिनिक र ल्यावहरुले पनि सहज रुपमा आफ्ना सेवाहरु डिजिटल माध्यममार्फत लाखौं प्रयोगकर्तासम्म पुर्याउन र बिक्रि गर्न सक्नेछन् ।
साथै हाम्रो डक्टर एप्लिकेशन र वेभसाइटको नयाँ संस्करण आएसँगै चिकित्सक, अस्पताल लगायतले आफ्नो विवरण थप सहज, आकर्षक र प्रभावकारी रुपमा राख्नसक्नेछन् ।
कोभिड १९ को महामारीका कारण सामाजिक दुरी कायम गर्दै वार्षिकोत्सव आयोजना गरिएको थियो ।
कार्यक्रममा कम्पनीका पदाधिकारी, शेयरधनी तथा कर्मचारीहरुले आफ्नो धारणा राखेका थिए । हाम्रो डक्टरमार्फत हाल राजधानीका दर्जनौं अस्पताल तथा क्लिनिकमा टिकट किन्न सक्नुका साथै सयौं डाक्टरसँग अनलाईनमार्फत शीघ्र परामर्श लिन सकिन्छ ।
हाम्रो डक्टरले वार्षिकोत्सवको अवसरमा आफ्ना सेवाहरुमा १० प्रतिशत छुटको समेत घोषणा गरेको छ । एप्लिकेशन नभएका प्रयोगकर्ताले गुगल र एप्पल स्टोरबाट एप डाउनलोड गर्न सक्नेछन् ।