नुवाकोटको पहिलो ‘सिंहदरबार’ र त्यहाँभित्रका एक ‘शालिन शासक’

शिवपुरी, १६ चैत । नुवाकोटको दक्षिणपूर्वी भेगमा अवस्थित शिवपुरी गाउँपालिका पुराना आठवटा गाविसको समिश्रण हो । नुवाकोटका दुर्गम मानिने तत्कालिन तलाखु गाविसदेखि सिक्रेसम्म मिलेर बनेको गाउँपालिकाको राजधानी शेराको बगर हो । शेराको बगरका बारेमा नजान्ने नसुन्ने नुवाकोटमा कमै होलान् ।

२९ हजारभन्दा बढि जनसंख्या रहेको सो गाउँपालिकामा टोखा छहरेका साथै मध्यपहाडी लोकमार्ग समेत रहेको छ । यस गाउँपालिकाको रोचक पक्ष धेरै छन् । त्यसमध्ये एउटा हो, गाउँपालिकासँग आफ्नै ‘सिंहदरवार’ छ । संघीयता र विकेन्द्रिकरणको प्रमुख मर्म गाउँ गाउँमा सिहंदरवार हो । सिंहदरवार केन्द्रिकृत शासनसत्ताको एउटा व्यंग्यात्मक बिम्वमात्र हो ।

तर, सदिऔंदेखि सिंहदरवारले पञ्जामा राखेको जनताका आधारभूत अधिकार आफ्नै ठाउँमा, आफैले चुनेको जनप्रतिनिधि मातहत ल्याउन २० वर्षपछि २०७४ मा स्थानीय चुनाव भएको हो । यसपछि कतिपय अधिकार जनताले आफ्नै घरआगनमा पाएका छन् । आफ्ना नेता आफैले चुनेका छन् । र गाउँमै सिंहदरवार पाएका छन् ।

स्थानीय तहबाट पाउने सेवा आफ्नै ठाउँबाट पाउन थालेपनि अझै बहुसंख्यक पालिकाहरुले आफ्नै सिंहदरवार भने पाएका छैनन् । तर, नुवाकोटको शिवपुरीले आफ्नै सिंहदरवार पाएको छ । शेराको बगरमा मध्यपहाडी राजमार्गसँगै ठडिएको छ शिवपुरीबासीको ‘सिंहदरवार’ र त्यहाँका ‘शासक’ छन् रामकृष्ण थापा । नुवाकोटका १२ वटा स्थानीय तहमध्ये हालसम्म शिवपुरीले मात्र आफ्नै भवन पाएको छ । प्राय सबै पालिकाले विभिन्न वहानामा आफ्नै भवनसमेत बनाउन नसकेर भाडाको भवनमा बस्नु परेका बेला गाउँपालिकाले ४ करोडको लागतमा आफ्नै भवन बनाएको हो । आफ्नै भवन भएपछि काम गर्ने उत्साह र आत्मविश्वासमा वृद्धि भएको थापाको प्रतिक्रिया छ । शिवपुरीले शीघ्र आफ्नो भवन बनाएर काम गरेको लगायत अनुकरणीय कामलाई गाउँपालिका महासंघले पहिचान गरि प्रशंसासमेत गरेको छ ।

सांसद बन्न जागिर छाडेको २० वर्षपछि गाउँपालिका प्रमुख
२०५६ सालको चुनावमा सांसद लड्न २०५४ मा शिक्षकबाट राजीनामा दिएका थापाले ठ्याक्कै २० वर्षपछिको धैर्यता र पर्खाईपश्चातमात्र राजकीय पद पाए । ‘कुनैबेला रामकृष्ण थापा विदुरमा हिँड्दा २० जना मास्टरको हुल लिएर हिँड्थे ।’ भनेर सम्झने पनि थुप्रै छन् नुवाकोटमा ।

नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघको राजनीतिमा लागेका थापाको प्रभावशाली व्यक्तित्व भएपनि पेशागत संगठनबाट आएको हुनाले उनले २०५६ मा काँग्रेसबाट सांसदको टिकट पाएनन् । लामो राजनीतिक योगदान भएपनि कुनै अवसर नपाएका थापाले जागिर छाडेको २० वर्षपछि अर्थात २०७४ सालको स्थानीय तहको चुनावमा नवनिर्मित शिवपुरी गाउँपालिकाको प्रमुखका लागि काँग्रेसबाट टिकट पाए र जितेपनि । अनि बल्ल सुरु भयो थापाले देखेको सपनातर्फको यात्रा ।

महत्वकांक्षी योजना शिवपुरी कृषि रिंगरोडदेखि आफ्नै रंगशालासम्म
आफ्नै सिंहदरवारमात्र होइन, गाउँपालिकाले आफ्नै कृषि रिंगरोड र आफ्नै रंगशालासमेत बनाउँदैछ । प्रमुख थापाले आफ्ना केही महत्वकांक्षी योजना अनुरुप ७० किलोमिटर लामो कृषि रिंगरोडको सपना देखे । समथर भूभाग र पहाडको चुचुरोसम्म रहेको गाउँपालिकाको सबै वडा भेट्ने गरि बनाउन सुरु गरिएको सो चक्रपथको ९० प्रतिशत ट्रयाक खुलिसकेको छ । तलदेखि माथिसम्म र माथिदेखि तलसम्म कृषकले कृषिउपज ढुवानी र खरिदबिक्रि गर्न सकून भन्ने उद्देश्यले यो आयोजना सुरु गरिएको थापाले तारकेश्वर अनलाईनसँगको कुराकानीमा बताए । करिब १५ वर्षको गुरुयोजना बनाएर यो काम थालिएको छ ।

यसका साथै थापाले गाउँपालिकाको आफ्नै रंगशाला बनाउने अर्को योजनामा काम गरिरहेका छन् । जसका लागि उनले गाउँपालिकाको विर्ताचौर भन्ने स्थानका मन्दिर र पाटीहरु सम्याएर रंगशाला बनाएका छन् । आधारभूत काममात्र सकिएको भएपनि रंगशालामा अन्तरपालिका अध्यक्ष गोल्डकप हुँदैछ । रंगशाला बनाउन मन्दिर हटाउनुपर्ने हुँदा उनी आफैले भगवानको मूर्ति हटाएर काम थालेका हुन् ।

आफ्नै कोल्डस्टोर, आफ्नै अस्पताल
गाउँपालिकाले यसैवर्षदेखि सञ्चालनमा ल्याउने गरि आफ्नै कोल्डस्टोर (शीतभण्डार) सञ्चालनमा ल्याउँदैछ । प्रदेश र गाउँपालिकाको लगानीमा बन्दै गरेको शीतभण्डारमा यसैसाल देखि फलफूल तरकारी भण्डारण गर्न सकिनेछ । त्यसका लागि पालिकाले डेढकरोडको औजार र मेशिनरी समेत खरिद गरिसकेको छ । साथै गाउँपालिकाले कृषकको लगानी गाउँपालिकाको ढुवानी भन्ने नाराका साथ पशु चौपायाको ढुवानीमा गाउँपालिकाले सहयोग गर्ने गरेको छ । यतिमात्र नभै स्थानीय दुग्ध उत्पादक कृषक र सहकारीलाई प्रवद्र्धन गर्न गाउँपालिकाले दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिएर कृषकलाई उत्साहित गरेको छ । ‘काठमाडौंमा अचेल शिवपुरीका दूधको खोजी हुन्छ ।’ प्रमुख थापा गर्वका साथ भन्छन् ।

गाउँपालिकाले एमबीबीएस डाक्टरसहित रहने गरि आफ्नै अस्पताल सञ्चालनमा ल्याएको छ भने सरकारी कार्यक्रम अनुसार हालैमात्र १५ शैयाको अस्पताल शिलन्यास समेत गरको छ ।

यसबाहेक गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई स्वरोजगार अनुदान दिने गरेको छ भने उन्नत खालका कृषिबिज तथा प्रविधि भित्र्याएर गाउँ सम्वृद्ध बनाउन अभियान थालेको छ ।

फरक प्रसंगमा गाउँपालिका प्रमुख थापा भन्छन्, ‘हरेक सचेत मान्छेसँग विचार हुन्छ । म विचारलाई सम्मान गर्छु ।’  निःशुल्क जग्गाप्राप्तीपछिको आफ्नै सिंहदरवार, महत्वकांक्षी योजना र सफलताका सूचकहरुलाई हेर्दा शालिनताले धनि थापाको यहि लोकतान्त्रिक चरित्र र अन्य दलका मानिसलाई पनि विश्वासमा लिनसक्ने व्यक्तित्वका कारण उनी सफलताको सन्निकट देखिन्छन् । सांसद बन्न नपाएको धोको बिर्साउनेगरि अझै शिवपुरीमा थापाले बाँकी एकवर्षमा थुप्रै काम गर्नुपर्नेछ ।

 

१६ चैत्र २०७७, सोमबार