म्यान्मारको सेनाले हवाइजहाजबाट बम बर्सायो, हालसम्म ४५९ प्रदर्शनकारीको मृत्यु
तारकेश्वर १७,चैत । म्यान्मारमा सैन्य कुपछि दैनिक सेना तथा प्रहरीको गोलीबाट ज्यान गुमाइरहेका सर्वसाधारणमाथि मंगलबारबाट म्यान्मार सेनाले हवाई आक्रमण पनि गर्न थालेको छ ।
देशको सीमा क्षेत्रमा विमान तथा हेलिकप्टरबाट सेनाले सर्वसाधारणमाथि हवाई कारवाही गरेको अल्जाजिराले जनाएको छ ।
म्यानमारको दक्षिण पूर्वी राज्य करेन राज्यमा धार्मिक सशस्त्र समूहद्वारा नियन्त्रित क्षेत्रमा हवाई कारवाही भएको जानकारी आएको छ । हवाई आक्रमण तथा बम प्रहार हुँदा मुट्र जिल्लाका ३ हजार मानिस ज्यान जोगाउन थाइल्याण्ड भागेको बताइएको छ ।
‘सेनाले हवाई कारवाही गरेपछि गाउँलेहरु जंगलमा लुक्न बाध्य भएको करेन वुमन्स अर्गनाइजेसनले एउटा विज्ञप्ती मार्फत बताएको छ । म्यानमारका ३ हजार नागरीकहरु सीमा पार गरेर थाइल्याण्डको शरणमा पुगेका छन् ।
म्यानमारमा गएको शनिबार मात्र सेना तथा प्रहरीले एकै दिन ११४ प्रदर्शनकारीलाई गोली हानी मारेको थियो ।
म्यानमारमा लोकतन्त्र पुनर्स्थापनाको माग गर्दै नागरीकहरु सैन्य शासनविरुद्ध प्रदर्शनगरिरहेका छन ।
हालसम्म म्यानमारमा ४५९ प्रदर्शनकारीको ज्यान गइसकेको छ । सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको छ ।