आज बिमस्टेक मन्त्रीस्तरीय भर्चुअल बैठक बस्दै

काठमाडौं १९, चैत । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बिहीबार बस्ने भएको छ । बैठक भर्चुअल रुपमा बस्ने बताइएको छ ।

श्रीलङ्काको आयोजनामा बैठक सन्चालन हुन लागेको हो । बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नेछन् ।

साथै विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारीहरुको पनि सहभागी रहने छ । बिहीबार अपराह्न ३ बजे भर्चुअल बैठक बस्ने भएको हो ।
बुधबार आज हुने बैठकको तयारी बैठक समेत बसेको थियो ।

बिमस्टेकका सदस्य राष्ट्रहरूमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमार र थाइल्यान्ड रहेका छन् ।

 

बिहीबार बस्ने मन्त्रीस्तरीय बैठकमा दिगो विकासका एजेन्डा सन् २०३० को लक्ष्य प्राप्तिका लागि सामूहिक सहकार्यमा जोड दिँदै यस क्षेत्रको गरिबी तथा अन्य समस्या निराकरणका लागि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ भने बहुआयामिक सम्पर्क सञ्जालमार्फत एकीकृत समृद्धि प्राप्तिका लागि आगामी दिनमा गर्र्नुपर्ने कार्यका बारेमा समेत निर्णय गरिने छ ।

नेपाल सन् २००४ देखि मात्र बिमस्टेकमा आबद्ध भएको हो ।