काठमाडौँ–तराई/मधेस द्रुतमार्गको दोस्रो प्याकेजको ठेक्का रद्द गर्न निर्देशन

तारकेश्वर २० , चैत । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाको सुरुङ तथा पुल निर्माणको दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरी पुनः प्रक्रिया सुरु गर्न प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकले द्रुतमार्गको दुईवटा प्याकेजको बोलपत्र आह्वानका लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा शून्य प्रतिस्पर्धा देखिएको भन्दै दोस्रो प्याकेज रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्न निर्देशन दिने निर्णय गरेको छ ।

काठमाडौँ–तराई मधेस द्रुतमार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनाले पाएको भएतापनि सार्वजनिक लेखा समितिको निर्णयबारे सेनालाई जानकारी प्राप्त नभएको स्रोतले बताएको छ ।

दोस्रो प्याकेजअन्तर्गत धेद्रेको सिम्पानीदेखि चालिसे खोल्सीसम्म एक किलोमिटर ३७० मिटर र लेनडाँडाको घट्टेपाखादेखि बाँदरेखोल्सीसम्मको सुरुङमार्ग र हाइब्रिज निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।

बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यथाशक्य छिटो निर्देशिका तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ खरिद र निर्माणसम्बन्धी विधि जारी गरेर अवरोध हटाउनसमेत निर्देशन दिने निर्णय गरेको छ ।