नेपालमा १२ औं कलेजो प्रत्यारोपण सफल
तारकेश्वर २२, चैत । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण सफल भएको छ ।
उनका आफ्नै २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले बताए । डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा.ललित दास, एनेस्थेसियामा डा. आरती राई, डा. सुशील तामाङ तथा नर्सहरु विनिता उप्रेती लगायतको टोलीले प्रत्यारोपण गरेको केन्द्रका निर्देशक डा.प्रेमराज ज्ञवालीले जानकारी दिए ।
भारतको म्याक्स अस्पतालबाट आएका डा. शलिन अग्रवालसहितको विज्ञ टोलीले ब्याक सपोर्ट गरेका थिए ।
कोरोना महामारीपछि केन्द्रमा भएको यो पहिलो प्रत्यारोपण हो भने समग्रमा छैटौं हो । यससँगै नेपालका तीनवटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएसकेको छ ।
केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र चितवनस्थित चितवन मेडिकल कलेजमा एक गरी १२ जनामा प्रत्यारोपण भएको छ । नेपालमा पहिलो पटक कलेजोको प्रत्यारोपण पनि सोही केन्द्रमा भएको थियो ।
डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वको टीमले २२ मंसिर २०७३ का दिन पहिलो प्रत्यारोपण गरेको थियो । त्यसबेला ३८ बर्षका बिरामी भाईलाई उनकी ४२ बर्षकी दिदीले कलेजो दान गरेकी थिइन ।