आकाशमा तुवाँलोले ढाकेपछि पोखरामा हवाई उडान अवरुद्ध

तारकेश्वर २४, चैत । वायु प्रदूषणका कारण पोखरामा बाक्लो तुवाँलो लागेपछि हवाई उडान पुनः प्रभावित हुन पुगेको छ ।
वायु प्रदूषणले भिजिबिलिटी नहुँदा झन्डै एक साता अवरुद्ध रहेको उडान गत बिहीबारदेखि सुचारु भए पनि सोमबारदेखि पुनः प्रभावित भएको हो । मंगलबार विहान देखिनै पोखरा आकाश तुवाँलोले ढाकेको छ ।
हिजो पोखराका लागि झण्डै तीन दर्जन उडान तालिका बनेको थियो तर आकाशमा तुवाँलो बढेर भिजिबिलिटी नहुँदा दिउँसो मात्र काठमाडौँमा २ वटा र जोमसोमका लागि ७ वटा उडान भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिएका छन् ।
आज भिजिबिलिटी नहुँदा पोखराबाट कुनै पनि उडान हुन सकिरहेको छैन ।
विमानस्थल स्रोतका अनुसार सोमबार समिट एयरका चार र तारा एयरका तीनवटा उडान जोमसोमका लागि भएका थिए । तर पोखरा–काठमाडौँ रुटमा भने बुद्ध र यतिले एक–एकवटा मात्र उडान गरेका थिए ।
पोखराको सराङकोट, काहुँडाँडा, पुम्दीकोट लगायत डाँडाहरू तुवाँलोले ढाकेर केहीपनि देखिएको छैन ।