नुवाकोटको पन्चकन्या-२ मा सामाजिक सुरक्षा भत्ता बापतको ५३ लाख २१ हजार बराबरको रकम वडाबाटै चोरी
नुवाकोट २६, चैत । नुवाकोटको पन्चकन्या गाउँपालिका कबिलाश स्थित वडा नं २ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता बापतको ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ चोरी भएको छ ।
रकम वडा नं २ को वडा कार्यालयको सेफबक्सबाट चोरी भएको जानकारी आएको छ । रकम चोरी भएको २४ घण्टा बितिसक्दा पनि सम्बन्धित गाउँपालिका तथा वडाले स्पष्टीकरण दिएको छैन ।
सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीमा गैसक्दा पनि पन्चकन्या गाउँपालिकाले भने सामाजिक सुरक्षा भत्ता बैङ्किङ प्रणालीमा नलैजाँदा आर्थिक अनियमिता भइसकेको प्रष्ट देखिन्छ ।
रकम चोरी भए सँगै वृद्ध भत्ता, असहाय,एकल महिला र दलितहरुले सामाजिक सुरक्षा भत्ता समयमा नै पाउन सक्ने अवस्था नरहेको देखिन्छ।
सामाजिक सुरक्षा भत्ता वितरणको वैकल्पिक आर्थिक व्यवस्थापनको विषयमा केहि नसोचेको वडाले बताएको छ । यसले नागरिकहरुमा झन समस्या बढ्ने देखिन्छ ।
गत २४ गते वडा नं २ का वडा सचिव सरिता रावत र वडाका सहायक कर्मचारी रामकुमार गिरिले बट्टार स्थित हिमालय बैँकबाट सामाजिक सुरक्षा भत्ता वितरणको लागि ५३ लाख २१ हजार ८ सय रुपैयाँ झिकेर लगेको र करिब ४:३० बजे तिर वडा कार्यालयको सेफबक्समा राखेर कार्यलय बन्द गरेको वडाध्यक्ष ध्रुव प्रसाद मिश्रले तारकेश्वर अन्लाइनलाई जानकारी दिए ।
वडा कार्यालयको ३ वटा ढोकाको ताल्चा फोरेको र ताल्चा पनि हराएको मिश्रले बताए ।
“यो घटना वडाका सचिव लगायतका कर्मचारीहरुको कम्जोरी र लापरवाहीले भएको हो ।”-उनले भने ।
योजनाबद्ध चोरीमा जनप्रतिनिधिको हात:स्थानीयको आरोप!
वडा कार्यालयबाट रकम हराउनु योजनाबद्ध चोरी भएको स्थानियले दावी गरेका छन् । साथै स्थानीयले जनप्रतिनिधिलाई आरोप समेत लगाएका छन् ।
वडा सचिव सरिता रावत र वडाका सहायक कर्मचारी रामकुमार गिरि सहित ४ जनालाई प्रहरीले हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।
अहिले वडाको सिसि क्यामेराको भिडियो हेरेर घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपि तुल बहादुर कार्कीले बताए ।
२७ चैत्र २०७७, शुक्रबार