नेपालमा पनि बन्दाबन्दी हुन सक्ने ,विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

तारकेश्वर २७, चैत । नेपालमा पनि बन्दाबन्दी हुन सक्ने अवस्था सिर्जना भइसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायतका भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। पछिल्लो समय देशभर विद्यार्थीहरु भौतिक रूपमा विद्यालय र क्याम्पसमा उपस्थित भएर पठनपाठन हुँदै आएको छ।

दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयले बताएको छ । कोरोनाभाइरस थप फैलन नदिन विद्यालय बन्द गर्नुपर्ने र पठनपाठनलाई अनलाइनबाट गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए । उनले भने- “विद्यालय बन्द गर्न बुधबार निर्णय गरेर सिसिएमसीमा सिफारिस गरेका छौँ ।”

प्रवक्ता गौतमले अहिले कोरोना सर्ने साइकल अथवा चेनलाई ब्रेक गर्नुपर्ने अवस्था आइसकेको पनि बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।

कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भिडभाड कम गर्न र २५ जना भन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो । पछिल्लो समय नेपालमा कोरोनाको दैनिक संक्रमण बढ्दै गएको छ।हिजो बिहीबारमात्र नेपालमा ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

 

२७ चैत्र २०७७, शुक्रबार