समुदायमा फैलिँदै ‘यूके भेरियन्ट’ , बच्चामा सङ्क्रमण दर बढ्यो, विद्यार्थी उच्च जोखिममा

तारकेश्वर २, वैशाख । सुरुमा बेलायतमा देखिएको ‘नयाँ भेरियन्ट’ पछिल्लो समय नेपालमा पनि व्यापक रूपमा फैलँदो क्रममा रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिका उच्च जोखिममा रहेको र समयमा नै सतर्कता नअपनाउने हो भने बिषम परिस्थितिको सामना गर्नुपर्ने जानकारी दिएको छ ।

पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणदर उच्च वृद्धि हुँदै गएकोसमेत पाइएको छ । दैनिक कोरोना संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिकाहरु रहेको कान्ति बाल  अस्पतालका डाक्टर आरपी विच्छाले बताए । बालबालिकामा विशेष गरी बेलायती भेरियन्ट देखिएको छ ।

कोरोना जोखिम बढिरहेको भएतापनि विद्यार्थीहरुको विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन हुँदा कतिपय विद्यालयले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको देखिएको छ ।
यसरी विद्यार्थीहरु उच्च जोखिममा रहेर पठनपाठन गरिरहेका छन् ।

संक्रमित बालबालिकामध्ये अधिकांशमा बेलायती भेरियन्ट देखिएको छ । सरकारले नेपालमा नयाँ प्रजातिको भारइस फैलिएको हुन सक्ने भन्दै ‘जिन सिक्वेन्सिङ’का लागि नमुना हङकङमा पठाएको थियो । ‘एस जिन नेगेटिभ’ भएका १० नमुनामध्ये ९ वटामा ‘यूके भेरियन्ट’ पुष्टि भएको हो ।