शिवपुरीको खेलाडीहरु सम्मानित

काठमाडौ  शिवपुरी काठमाडौं सहयोगी समूहले शिवपुरी गाउँपालिकाका फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ।
गत चैत्र २५ गते सम्पन्न शिवपुरी अध्यक्ष गोल्डकप प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्न सफल शिवपुरी गाउँपालिकाका फुटबल खेलाडीलाई मायाको चिनोसहित सम्मान गरिएको हो ।
सामाखुशीको निर्मल बाटिका हाई स्कुलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिवपुरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर तामाङले अब शिवपुरीमा फुटबल क्लब नै बनाएर खेलको विकास गर्ने लक्ष्य राखिएको बताए । शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता भव्यरुपमा सफल भएको बताउँदै उनले स्थानीय तहमा खेल क्षेत्रको विकासका लागि योजना बनाएर अघि बढ्ने जानकारी दिए ।
शिवपुरी काठमाडौं सहयोगी समूहका उपाध्यक्ष योगेन्द्र रुम्बाले शिवपुरीका अप्ठ्यारो पर्नेलाई सहयोग गर्न समूह स्थापना भएको बताए । विगतमा शिवपुरीका गरीब र अप्ठ्यारोमा परेकालाई संस्थाले सहयोग गरेको भन्दै उनले अब खेलाडीहरुलाई पनि आवश्यक परेका बेलामा सहयोग गर्ने बताए ।
निर्मल बाटिका हाई स्कुलका प्रिन्सिपल शिव थापाले खेलाडीहरुलाई आगामी दिनमा अझ राम्रो गर्न शुभकामना दिए । भविष्यमा खेलाडीहरुको हकहितका लागि विद्यालयको तर्पmबाट सकेको सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
विद्यालयका सञ्चालक समिति सदस्य कृष्ण बहादुर थापाले खेलाडीहरुको प्रगतीको कामना गर्दै शुभकामना दिए ।
कार्यक्रममा शिवपुरी यातायातका अध्यक्ष प्रल्हाद थापा, गोल्डकपमा भाग लिएका खेलाडीहरु, टिम व्यवस्थापन समूह र अन्यको  उपस्थिती रहेको प्रहलाद थापाले जानकारी दिए।