तानपामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन डेढसय स्वयंसेविका र २४ जना स्वास्थ्यकर्मी परिचालन

तारकेश्वर ५, वैशाख । तारकेश्वर नगरपालिकाले भोलि सोमबारदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने भएको छ ।

बालबालिका लक्षित राष्ट्रिय कार्यक्रम अन्तर्गत देशैभर सन्चालन हुने कार्यक्रममा तारकेश्वर नगरपालिकाले पनि भोलि र पर्सी वैशाख ६ र ७ गते ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ ।

यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुका दुबैको औषधि खुवाइन लागिएको हो ।

६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने समेत तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले तारकेश्वर अनलाइनलाई बताए । अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनुपर्ने उनले बताए ।

तारकेश्वर नगरपालिकामा भिटामिन ‘ए’ तथा जुकाको औषधी खुवाउने काममा १ सय ५२ जना स्वयंसेविका र २४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

तारकेश्वर नगरपालिकामा ११ वटै वडामा गरि १२ ठाउँबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने स्वास्थ्य प्रमुख शाहले बताए ।