नुवाकोट विदुरका केही शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि ,अधिकांश विद्यालय सङ्क्रमणको जोखिममा

नुवाकोट ७, वैशाख । नुवाकोटको विदुर नगरपालिकाको केही विद्यालयका शिक्षकहरुमा कोरोना पुष्टि भएको छ ।जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको स्थिति बढेसँगै विद्यालयको शिक्षकमा पनि कोभिड १९ देखिएको हो ।

विदुर नगरपालिकाको वडा नं एक को विद्यालय तथा त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, भिमसेन माध्यमिक विद्यालय लगायतका विद्यालयका विद्यार्थी एवं शिक्षकहरुलाई कोरोना सङ्क्रमण भएको जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका जनस्वास्थ्य निरीक्षक तथा विदुर नगरपालिका कोभिड फोकल पर्सन रामराजा भण्डारीले बताए ।

दुई जना शिक्षक र एक विद्ययार्थीमा संक्रमण पुष्टि भएको हो । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रदेश अस्पताल त्रिशुलीमा उपचार भइरहेको भण्डारीले बताए ।

संक्रमित शिक्षक देखिएको विद्यालयमा अहिले सम्म कन्ट्याक्ट ट्रेसिङ भएन

विदुर नगरपालिकाको विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना सङ्क्रमण भएको भएतापनि विद्यार्थीहरुमा कन्ट्रयाक्ट ट्रेसिङ भएको छैन । “सम्पर्कमा आउने विद्यार्थीहरुमा कोभिड १९ सङ्क्रमणको लक्षण देखिएमा मात्र कन्ट्याक्ट ट्रेसिङमा आउन भनिएको छ।” भण्डारीले भने ।

विद्यालयको शिक्षकमा कोरोना पुष्टि भएसँगै अभिभावकहरु आत्तिएका छन् । विदुर नगरपालिकाले अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन । विदुर नगरपालिकामा विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा हिजो नै छलफल भईसकेको र आज पनि छलफल गरेर निर्णय गरिने जनस्वास्थ्य कार्यालय नुवाकोटका उत्तम खनालले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

७ बैशाख २०७८, मंगलवार