नुवाकोटको शिवपुरी गाउँपालिकामा ४० जनाको स्वाब संकलन

काठमाडौ  नुवाकोट जिल्लाको पु्वि भेगमा अवस्थित शिवपुरी गाउँपालिकाले निःशुल्क कोरोना परिक्षण सुरु गरेको छ । पिसिआर परिक्षणका लागि पहिलो दिन आइतबार ४० जनाको स्वाब संकलन गरिएको छ ।
पहिलो दिन वडा नं. १, २ र ३ मा रहेका लक्षण देखिएका व्यापारी, सवारी चालक, जनप्रतिनिधि, शिक्षक लगायत अन्य सर्वसाधारण नागरिकहरु गरी ४० जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक उद्धब कार्कीले जानकारी दिए । स्वाब परिक्षणका लागि त्रिशुली अस्पतालमा पठाइएको छ ।
गाउँपालिकाले व्यापारी, होटल सञ्चालक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, विदेशबाट आएका व्यक्तिहरुमा कुनै लक्षण देखिएमा निःशुल्क पिसिआर परिक्षण गर्ने व्यवस्था मिलाएको छ । यसका लागि सोमबार गाउँपालिकाको कार्यालय शेराबगरमा वडा नं. ४, ५ र ६ तथा मंगलबार थानापती स्वास्थ्य चौकीमा वडा नं. ७ र ८ का नागरिकको बिहान ११ देखि साढे ३ बजेसम्म स्वाब संकलन गरिँदैछ । स्वाब संकलनमा आउॅदा स्वास्थ्य साबधानीका सबै मापदण्ड पुरा गरी आउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यका लगायत अन्य जिल्लामा कोरोना भाइरस संक्रमण बढ्न  थालेपछि पुर्व तयारीका साथ शिवपुरी गाउँपालिकाले सामुदायिक अस्पतालमा अक्सिजन सहित २० शैयाको आइसोलेशन कक्ष पनि तयार गरेको छ ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले पहिलाको ८ बेडको आइसोलेशनलाई बढाएर अहिले २० बेड बनाइएको बताए । गाउँपालिकाले गाउँबासीको स्वास्थ्यमा ध्यानमा राखी एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । गाउँपालिकाले सामान्य अवस्थामा रहेका कोरोनाका बिरामीलाई होम आइसोलेशनमा र स्वास्थ्यमा थप समस्या भएका कोरोनाका बिरामीलाई पालिकाले निर्माण गरेको आइलोलेशनमा राख्ने व्यवस्था मिलाएको छ ।
२७ बैशाख २०७८, सोमबार