सरकारका नाममा (कविता)

सरकारका नाममा

सरकार !
हामीलाई थाहा छ
यो राष्ट्रिय संकट हो
यो महामारीको समय हो
तर,
यो महामारीमा –
तँ सांसद किन्न सक्छस्
अक्सिजन किन्न सक्दैनस् -भने
तँ मेलाम्चि धारा-धारामा जोडें भन्छस्
अस्पतालमा भेन्टिलेटर र बेडहरू जोड्न सक्दैनस् – भने तँ धरहरा उठाएँ भन्छस्
तर जनताको लास उठाउन सक्दैनस् -भने
हरेक दिन परिचित अनुहारहरूको
श्रद्धाञ्जली लेख्दा लेख्दै
थरथर काँपेका हाम्रा औंलाहरू
बाध्य हुनेछन् लेख्न
सरकार तेरो नाममा
हार्दिक श्रद्धाञ्जली छ ।

सरकार !!
देश लकडाउनमा छ
तँ बलुवाटारको बार्दलीमा बसेर
सत्ताको जोड – घटाउ गरिरहँदा
हामी भनिरहेछौं आधा पेट भएपनि खान देऊ
जवाफमा तँ भन्छस्- अयोध्या बनाउँदै छु।
हामी चिच्याईरहेछौं मर्नु त छँदै छ
अस्पतालको बेडमा अन्तिम श्वास अक्सिजनको फेर्न देऊ
जवाफमा तँ भन्छस् – नआत्तिनुस्
मसान घाटमा लाईन बस्न नपर्ने व्यवस्था गर्दैछु ।
यो विपदमा
यो संकटमा
हाम्रा आवाजहरूलाई सामान्य ठानिन्छ भने
हाम्रा चित्कारहरूलाई बेवास्ता गरिन्छ भने
सरकार तेरो नाममा
हार्दिक श्रद्धाञ्जली छ ।

विवेक ढकाल

लिखु १, नुवाकोट

 

२९ बैशाख २०७८, बुधबार