कोरोना कहरका बीच नुवाकोटमा सहयोग पुर्याउँदै रुडेक नेपाल

नुवाकोट, ५ जेठ । कोरोना भाइरस कोभिड १९ ले पछिल्लो समय सिर्जना गरेको विषम परिस्थितिमा ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र नेपाल (रुडेक नेपाल)ले नुवाकोट जिल्लाका विभिन्न स्थानमा कोभिड लक्षित कार्यक्रमहरु गरिरहेको छ ।
रुडेक नेपालको अगुवाइमा जोर्डन स्थित यु। एन। तथा विभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा कार्यरत नेपालीहरुको सहयोगमा रुडेक नेपालले नुवाकोटको पन्चकन्या गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ५ बेड र ५ वटा निबुलाइजर प्रदान गरेको छ ।
यसैगरि तादी गाउँपालिकाद्वारा संचालित आइसोलेसन सेन्टरको क्षमता अभिबृद्धि र सुधारको लागि ७ बेड र ५ वटा अक्सिमिटर प्रदान गरेको हो ।
जिल्ला समन्वय समिति नुवाकोट प्रमुख सन्तमान तामाङको उपस्थितिमा रुडेक नेपालका अध्यक्ष मिनकुमार केसीले पन्चकन्या गाउँपालिकाका सबै वडाहरुमा एक/एक हजार मास्क प्रदान गरेको रुडेक नेपालद्वारा संचालित शैक्षिक छात्रवृति कार्यक्रमका व्यवस्थापक रमेश जंग कुँवरले तारकेश्वर अनलाइनलाई जानकारी दिए ।
रुडेक नेपालले यसभन्दा पहिले पनि कोरोनाको पहिलो लहरमा एस.सी.ए.आई अस्ट्रेलियाको सहयोगमा नुवाकोट जिल्लाको दुप्चेश्वोर गाउँपालिकामा अक्सिजन सहितको ८ वटा बेड क्षमता भएको आइसोलेशन केन्द्रको स्थापना गरेको थियो ।
अहिले अस्पतालका बेडहरु कोभिड बिरामीहरुले भरिभराउ भैरहेको र अक्सिजनको चरम अभाव भोगिरको अवस्थामा दुप्चेश्वोर गाउँपालिकाले संक्रमितहरुलाई उक्त आइसोलेशन केन्द्रमा व्यवस्थापन गरिरहेको जनाएको छ ।
यसरि जनस्तरमा गरिएका कामहरुले पक्कै पनि कोरोना रोकथामको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफु विस्वस्त रहेको जिल्ला समन्वय समिति प्रमुख तामाङले बताए । साथै अहिलेको यस विसम परिस्थितिमा अन्य संघ संस्थाहरुलाई पनि काँधमा काँध मिलाएर अगाडी बढ्नको तामाङले आग्रह गरेका छन्।
रुडेक नेपालले २०५४ सालदेखि समुदाय विकासको लागि भूमिका निर्वाह गर्दै आइरहेको छ । अहिले यस संस्थाले एस।सी।ए।आई अस्ट्रेलियाको सहयोगमा नुवाकोटका बिपन्न परिवारका ४ सय विद्यार्थीलाई शैक्षिक छात्रवृति प्रदान गर्नुको साथै उनीहरुको परिवारलाई जिविकोपार्जनमुखी क्रियाकलापको माध्ययमबाट आत्मनिर्भर बनाइरहेको छ ।
साथै, रुम टु रिडको सहयोगमा नुवाकोट जिल्लाका ४८ वटा विद्यालयहरुमा उक्त विद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि पुस्तकालय स्थापना गर्नुको साथै शिक्षकहरुको लागि तालिम दिने काम पनि संस्थाले गरिरहेको छ ।