यशोदादेबी ट्रष्टको संयोजनमा व्यवसायीले अक्सिजनसहितको दुईहजार सिलिण्डर उपलब्ध गराउने
नुवाकोट, १४ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संरक्षकत्वमा रहेको यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टको संयोजनमा व्यवसायीहरुले नुवाकोटका बिभिन्न स्वास्थ्य संस्थालाई ठूलो परिमाणमा अक्सिजनसहितको सिलिण्डर उपलब्ध गराउने भएका छन् ।
हिजो बिहिबार काठमाडौंको गोंगबु स्थित नेता केसीको निवास पुगेका ब्यवसायीहरुले ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीसमेतको उपस्थितीमा नुवाकोटका तीन स्वास्थ्य केन्द्र र नेपाली कांग्रेस पार्टी कार्यालय भवनमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई दुई महिनासम्म आवश्यकता अनुसार ७ लाख ५० हजार मूल्य बराबरको दुईहजार अक्सिजन सिलिण्डर उपलब्ध गराउने जानकारी दिएका छन् ।
उक्त ट्रष्टका महासचिव एवं नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसी र ककनीमा रहेको हाम्रो अक्सिजन ग्यास उद्योग प्रालिका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेस बेलकोटगढी काठमाडौं सम्पर्क समितिका सभापति श्याम ढुँंगाना, अक्सिजन ग्यास उद्योगका संचालक मधुसुदन पाण्डे, दिनेश ढकाल, नेपाली कांग्रेस लिखु काठमाडौं सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष एवं ग्यास उद्योगका संचालक ठाकुरप्रसाद लामिछानेले अक्सिजन सिलिण्डरको उपलब्धता र वितरण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अक्सिजन सिलिण्डरहरु आवश्यकता हेरी खरानीटार अस्पताल देउराली र ककनी प्राथमिक स्वास्थ्य केन्द्र तथा बिदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई उपलब्ध गराईने नेता केसीले बताए । यसअघि ट्रष्टको संयोजनमा त्रिशूली अस्पतालका कोरोना संक्रमित बिरामी र स्वास्थ्यकर्मीहरुका लागि निःशुल्क खानाको व्यवस्था गरिएको थियो ।



