बाग्मती प्रदेश उपसभामुख तामाङ्गद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

बाग्मती, १५ जेठ । बाग्मती प्रदेश उपसभामुख राधिका तामाङले १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छिन । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उपसभामुख तामाङ्गले महान सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

शनिबार उपसभामुख राधिका तामाङ्गले व्यक्त गर्नुभएको शुभकामना:-

नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र दिवशको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजूभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । यो परिवर्तन संभव तुल्याउन बलिदान गर्नुहुने महान सहितहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा वेपत्ता योद्धाहरुलाई सम्मान प्रकट गर्दछु ।

समाजमा व्याप्त विभेद, अन्याय र अव्यवस्थाका विरुद्ध न्याय, समानता र सुव्यवस्थाका लागि नेपाली जनताले राज्य व्यवस्था परिवर्तनको आकांक्ष बोकेर संघर्ष गरेका थिए । फलस्वरुप राजतन्त्रको विकल्पमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुन पुग्यो । तर कतिपय राजनीतिक दल र नेतृत्वमा भएका सामन्ति साेंच, सत्ता मोह र व्यक्तिगत महत्वकांक्षाको कारणले गर्दा नेपाली जनताले चाहे जस्तो गणतन्त्र स्थापित हुन सकेन । संसदीय प्रणालीबाट जनचाहानाको कदर र मुलुकको समृद्धि संभव नहुने भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखबाट शासन गर्ने राज्यववस्थाका लागि प्रयासका बावजुद सुधारोन्मुख संसदीय प्रणालीसहितको संविधान जारी हुन पुग्यो । प्रगतिशील शक्तिसहित जनताबाट निर्वाचित प्रतिनिधीहरुले बनाएको संविधान भविष्यमा जनमुखी बन्दै र बनाउँदै जाने अपेक्षासहित जनताले स्वीकार गरे र नयाँ व्यवस्था माथि परिवर्तन र विकासको ठूलो आशा राखे ।
नयाँ व्यवस्थासंगै स्थानीय र प्रदेश सरकारमार्फत सिंहदरबार केन्द्रित थुप्रै अधिकारहरु गाउँमा पुगेका छन् । पिछडिएका बर्ग, क्षेत्र र लिंगका समुदायहरु राज्य निकायमा प्रतिनिधत्व गर्दै सत्ता अभ्यासको अनुभव गर्न संभव भएका छन् भने आम नागरिकले पनि अधिकार र विकासको सवालमा आफ्नो भूमिका खोज्न संभव भएका छन् ।
तर बिडम्बना ! सत्ताको केन्द्रमा भैरहेको पुरानै संसदीय अभ्यास, सोंच र शैलीले गर्दा न त संविधान मुताविक अधिकारहरु प्रत्यायोजित हुन पुग्यो, न त जनउत्तरदायी भएर काम गर्ने वातावरण नै । बरु, सिंहदरबारको पुरानै शैली, सत्ता मोह, भ्रष्टाचार जस्ता बेथिती नै गाउँगाउँमा पुगेको जनगुनासो बढिरहेको अवस्था छ । जनताले आधारभूत आवश्यक्ता र मौलिक अधिकार उपभोग गर्ने वातावरण समेत राज्यबाट हुन सकिरहेको छैन । कोरोना महामारी जस्तो विषम परिस्थितिमा समेत जनताको जीवन रक्षा र आधारभूत स्वास्थ्य उपचारको व्यवस्था गर्न सकिरहेको छैन । तर सरकार र राजनीतिक नेतृत्व सत्ताका लागि संसदीय खेलमा व्यस्त छन् ।सरकार र राज्य निकायमा रहेका नेतृत्वमा देखिएको राजकीय शैली, सत्ताभोगको अतृप्त चाहना तथा विकास र न्याय सम्पादनमा देखिएका असमानता र बेथितीले जनतामा निराश मात्र हैन, सिंगै गणतन्त्र व्यवस्था माथि नै प्रश्न खडा भएको छ । जनतामा भ्रम सिर्जना गरी गणतन्त्र र संविधान माथि नै प्रहार गर्ने र पुरानो अवस्थामा फर्कन चाहने शक्तिहरु क्रियाशील बन्न थालेका छन् । यो अवस्थामा सबै परिवर्तनशील शक्तिहरु एक भै संविधानको रक्षा र थप समृद्ध बनाउने कुरामा केन्द्रित हुन जरुरी छ । नेपाली जनताले रगत र पसिना बगाएर ल्याएको गणतन्त्र सीमित व्यक्तिका लागि सत्ता भोग गर्ने आधार कदापि बन्नु हुँदैन । राष्ट्र, जनता र संविधान भन्दा माथि कोही पनि छैन र हुनुहुँदैन । तसर्थ, आजकै दिनबाट हामी सबैले संकल्प गरौं – राजनीति राष्ट्र र जनताको सेवाका लागि हो ।यसलाई व्यवहारमा लागु गर्न १४ औं गणतन्त्र दिवशले सबैमा प्रेरणा मिलोस्, शुभकामना ।
१५ जेठ, २०७८
राधिका तामाङ
उपसभामुख, बागमती प्रदेश