गाउँमा एम्बुलेन्स जान नसक्ने अवस्था भएपछि तारकेश्वर ५ का युवा आन्दोलित

तारकेश्वर, २८ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ स्थित बोहोराटार- धितालचोक सडकखण्डको निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ।

गाउँमा एम्बुलेन्स जान नसक्ने अवस्था भएपछि तारकेश्वर ५ का युवाहरु मेयर रामेश्वर बोहरा र उपमेयर भवानी डोटेल विरुद्ध आन्दोलित भएका हुन ।

उक्त सडकखण्डमा विगत लामो समयदेखि निर्माणको लागि नगरपालिकासँग स्थानीयले बारम्बार अनुरोध गरेपनि नगरपालिकाले कुनै वास्ता नगरेको स्थानियले आरोप लगाएका छन् ।

उक्त बाटोको समयमा मर्मत संभार हुन नसक्दा स्थानीयले धेरै समस्या भोग्नुपरेको छ। शुक्रबार वडा नं ५ का स्थानियले नगरप्रमुख रामेश्वर बोहरालाई बाटोको अवस्थाको बारेमा ध्यानाकर्षण गर्दै दवाव सिर्जना गरेका छन ।

उपमेयर भवानी डोटेल दिनहुँ नगरपालिका जान त्यही बाटो भएर निस्किने भएपनि वडाको बाटोको हालत त्यस्तो हुँदा सम्म कुनै  चासो देखाएकी छैनन् ।

आज स्थानियले दवाब सिर्जना गरेसँगै नगरप्रमुख बोहोराले दुई दिन भित्र वाटोमा ग्रावेल गर्ने आश्वासन दिएका छन् ।

नगर प्रमुख बोहोराले बारम्बार आश्वासन दिने तर काम नगर्ने भन्दै नगरप्रमुखको बच्चा फकाउने उक्त आश्वासनको कुनै अर्थ नरहेको र काम नगरेमा दवावमुलक आन्दोलन गर्ने एक स्थानीयले तारकेश्वर अनलाईन सँग बताए ।

तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले कुनै जनप्रिय काम नगरेको र बजेटको फजुल खर्च गरेको भन्दै विवादमा आउने गरेका छन् ।