तारकेश्वरमा खोप वितरणमा चरम लापरवाही, वृद्धवृद्धालाई भनि ल्याइएको खोप पार्टीका कार्यकर्तालाई

तारकेश्वर,२८ जेठ । सरकारले पछिल्लो पटक भेरोसेल कम्पनीको कोभिड १९ विरुद्धको खोप ६२ देखि ६४ वर्ष उमेर समुहका वृद्धवृद्धालाई लगाउने नीति ल्याएको र सोहीअनुसार खोपको व्यवस्थापन गरिएको भएपनि तारकेश्वर नगरपालिकामा खोप वितरणमा चरम लापरवाही देखिएको छ ।

शुक्रबार ३३ बर्षिय एक पुरुषले नगरपालिकाको वडा नं ६ स्थित धर्मस्थली स्वास्थ्य चौकीबाट खोप लगाएका छन् । तारकेश्वरमा लक्षित तोकिएको उमेर बाहेकका नगरपालिकाको जनप्रतिनिधिको आसेपासे र राजनीतिक पहुँच वालाले मात्र खोप लगाएकाे भेटिएको हो ।

खोपको मात्रा सीमित हुँदा पनि यसरी लापरवाही हुँदा नगरपालिकाले कुनै अनुगमन गरेको देखिँदैन । तारकेश्वर नगरपालिकामा अर्थिक अनियमित हुने शाखाको रुपमा चिनिँदै आएको स्वास्थ्य शाखाले खोपमा लापरवाही गरेको छ । स्वास्थ्य प्रमुख विनोद कुमार शाहले खोपमा भएको राजनीतिलाई समर्थन गरिरहेका छन् ।

तोकिएको समूहबाहेकलाई खोप लगाउने स्वास्थ्यकर्मी र खोप पाउने व्यक्ति दुवैलाई कारबाही गर्ने सरकारले बताए पनि तारकेश्वरमा राजनीतिक पहुँचकै आधारमा स्वास्थ्य प्रमुख,र नगरप्रमुख र उपप्रमुखको संरक्षणमा वृद्धवृद्धालाई भनेर वितरण गरिएको खोप ३३ बर्षे युवाहरुले लगाइरहेका छन् ।

प्रशासन देखि वडा सम्म राजनीतिक बोलवाला रहेको तारकेश्वर नगरपालिकामा लक्षित समूहले भन्दा धेरै अन्य उमेर समूहकाले लगाएकाले विरोध पनि भएको छ । लक्षित समूहकाहरू धेरै जना खोपबाट वञ्चित भएको तारकेश्वर नगरपालिका वडा नं ५ का एक स्थानीयको दाबी छ ।

नगरपालिका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राजनीतिक पहुँच भएका आफन्तले १८ वर्षमाथिका घरका सबै परिवारलाई भित्रभित्रै खोप लगाएको उनको दाबी छ ।

तारकेश्वर नगरपालिकामा वृद्धवृद्धाले सहज रूपमा खोप पनि लगाउन नपाएको उनको भनाइ रहेको छ । तारकेश्वर नगरपालिकाले वृद्धवृद्धाहरूलाई सहज रूपमा खोप लगाउने व्यवस्था गर्न नसकेको भनेर नगरप्रमुख रामेश्वर बोहराको चौतर्फी विरोध भइरहेको छ ।