मनाङको चामेमा थुनियो मर्स्याङ्दी नदी

लमजुङ, ५ असार । सोमबारदेखिको अविरल वर्षाका कारण मनाङ सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ । चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुंगामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो ।हिमाली जिल्ला मनाङबाट बग्ने मर्स्याङ्दी नदी चामेमा ताल बन्दा जोखिममा परेको माथिल्लो मनाङ जाने बेलिब्रिज थुनिएको भागबाट मर्स्याङ्दी बगेपनि पानी निरन्तर परिरहेकाले बहाब बढेको हो । यसबाट चामेको पारीपट्टीको भाग डुबानमा परेको छ । सिंगो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलिब्रिज समेत कटान गरेको छ । चामेका पल्साङ गुरुङले मर्स्याङ्दी बढ्दै आएको र घट्टेखोलाबाट बगेको बाढीले ढुंगामुढा बगाएर थुपारिदिएपछि चामेमा मर्स्याङ्दी नदीले तालको रुप लिएको बताउनुभयो । यसबाट माथिल्लो मनाङ जाने पुल कटान गरेको छ ।

नदीमा बाढी बढ्दै गएकाले चामे बजार उच्च जोखिममा परेको उहाँले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नदीको बहाब बढ्दै गएको र यसले चामेबजार थप जोखिममा पारेको बताउनुभयो ।

उहाका अनुसार चामेको बीच बजारबाट बगेर आएको बाढीसहितको ढुंगामुढा मर्स्याङ्दीमा पसेर मर्स्याङ्दीलाई ताल बनाइदिएको छ । उहाँले नेपाली सेनामार्फत बम विष्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकोमा पानी निरन्तर परिरहेकोले समस्या भएको बताउनुभयो । सुरक्षाका सबै निकायसँग समन्वय गरी खुलाउने प्रयास भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।