हिमालय मैत्री फाउण्डेशन नेपालको कार्यालय स्थापना

भदौ ११, काठमाडौँ ।  हिमालय मैत्री फाउण्डेशन नेपालका प्रमुख संरक्षक खेन रिन्पोछे फुर्वा दोर्जे तामाङद्वारा संस्थाको कार्यालय उद्घाटन गर्नुभएको छ । बौद्ध धर्म र संस्कृतिको वृहत्तर विकास तथा प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थापित सो संस्था काठमाडौँको बौद्ध स्थित तिनचुलीमा लामा गुरुहरुद्वारा एक विशेष स्वर्ण पिय पूजा तथा हरित तारा पुजा (ढोल्छ्योक) गरी उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रममा  फाउण्डेसनका अध्यक्ष आचार्य थुप्तेन (अशोक लामा)  द्वारा स्वागत मन्तव्य राख्नुका साथै संस्थाको उद्देश्यबारे प्रकाश पार्नुभयो । अध्यक्ष लामाले बौद्ध धर्म, संस्कृतिको विकास र सामाजिक कार्यमार्फत शिक्षाको ज्ञान प्रवाह गर्ने उद्देश्यका साथ हिमालय मैत्री फाउण्डेशन नेपालको स्थापना भएको बताउनुभयो । आफ्नो भाषा, धर्म र संस्कृतिको माध्यमबाट पहिचानको संरक्षण गर्नुको साथै विश्वसामु बौद्ध धर्मबारे शन्देश प्रवाह गर्न संस्थाको स्थापना भएको उहाँले बताउनुभयो । 

सो संस्थाका प्रमुख संरक्षक समेत रहनुभएका खेन रिन्पोछे फुर्वा दोर्जे तामाङले अधिकांश बौद्धमार्गीहरु सांस्कृतिक रुपमा मात्रै बौद्धमार्गी रहेको उल्लेख गर्दै अबको समयानुकुल आधुनिक बौद्धमार्गी हुन प्रयोगात्मक र व्यवहारिक रुपमा बौद्ध दर्शनलाई दैनिक जीवनमा अनुसरण गर्नुपर्ने बताउनुभयो । उहाँले सबै धर्म समान रहेको उल्लेख गर्दै बौद्ध दर्शनलाई जुनसुकै धर्म मान्नेले अपनाउने सकिने बताउनुभयो ।

फाउण्डेशनको कार्यसमितिमा उपाध्यक्ष छिरिङ गुरुङ, सचिव आचार्य बुद्ध लामा र कोषाध्यक्ष याङ योञ्जन रहेका छन् ।