ओम्नी, वाइड बडी जस्ता काण्ड हुन नदिने मन्त्री खतिवडाको प्रतिवद्धता

हेटौंडा । नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्ना मतदाता र कार्यकर्ताहरुको शिर निहुराउनुपर्ने गरी कुनै पनि गलत काम नगर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेकपा एकिकृत समाजवादी मकवानपुर जिल्ला कमिटीको आयोजनामा दशैं लगायतक विभिन्न चाडपर्वको अवसरमा सोमबार आयोजित भव्य चियापान कार्यक्रममा उहाँले उक्त प्रतिवद्धता जनाउनुभएको हो । मन्त्री भएलगत्तै पहिलोपटक गृह जिल्ला आउनुभएका उहाँले आफुले आफ्नो क्षमता र विवेकले भ्याएसम्म सकेको राम्रो गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । अघिल्लो सरकारको पालामा भएका जस्ता ओम्नी, वाइड बडी लगायतका काण्ड आफुहरुले हुन नदिने उहाँको भनाई थियो ।
नेकपा एकिकृत समाजवादीका तेस्रो वरियताका नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । पार्टीका उपाध्यक्ष केदार न्यौपानेले समेत शुभकामना व्यत्तः गर्नुभएको थियो । सो कार्यक्रममा मन्त्री खतिवडाले जनताको मत र पार्टीको निर्देशनलाई आत्मसाथ गरेर काम गर्ने बताउनभयो । मन्त्री खतिवडाले अहिलेको प्राथमिकता कोरोना संक्रमण नियन्त्रण भएको भन्दै उहाँले नेपाललाई चाहिने २ करोड डोज खोप ल्याउन पहल गर्ने बताउनु भयो ।        खतिवडाले विगतको पार्टीमा जनताले विश्वास गरेर निर्वाचित गर्दा पनि ठूला भन्नेहरुले पेल्ने र ठेल्ने काम गरेको बताउनु भयो । पेल्ने र ठेल्नेको चंगुलबाट उम्किएर नयाँ यात्रा सुरु गर्दा प्रधानमन्त्री र पार्टी अध्यक्षले विश्वास गरेर जिम्मेवारी दिएको भन्दै उहाँले भन्नुभयो,, ‘ठेल्दै पेल्दै गयो भने कहिलेकाहीँ फड्को मार्नुपर्ने हुँदोरहेछ ।                                                                                                                     अहिलेको क्याबिनेटको मर्यादाक्रममा छैटौं नम्बरमा राखेर आयो । पुरानो ऋण ब्याज सबै सकियो ।’ यसैबीच उहाँले हेटौंडाका विभिन्न २१ सामाजिक संस्थाहरुको संयुक्त स्वागत कार्यक्रममा पनि सम्वोधन गर्नुभयो भने हेटैंडा अस्पतालको समेत निरिक्षण गर्नुभयो । सोमबार दिउँसो मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको स्थलगत अवलोकन तथा निरीक्षण गर्दैे हेटौंडा अस्पतालको स्तरोन्नती र सेवा विस्तारको लागि सक्दो प्रयास गर्ने बताउनुभयो ।
मन्त्री खतिवडाले अस्पताललाई आम नागरिकहरुको गुनासो रहित बनाउन आवश्यक काममा सक्रिय भूमिका निर्वाह गर्ने बताउँदै अस्पतालको विकास र विस्तार सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो । उहाँले अस्पतालका कर्मचारीमा प्रतिष्ठान आएपछि जागिर नै संकटमा पर्ने चिन्ताले सताइरहेको भन्दै यसबारेमा सरकारले आवश्यक निर्णय गर्ने भएकाले निश्चिन्त रहेर जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । वर्षौँदेखि काम गर्दै आएको करारका कर्मचारी, चिकित्सक, नर्स लगायत सबैलाई समेटेर प्रतिष्ठानले अपुग कर्मचारी माग्नेमा सरकारको ध्यानकर्षण हुने मन्त्री खतिवडाले बताउनुभयो । अस्पतालले एक समारोहका बीच मन्त्री खतिवडालाई स्वागत एवम् सम्मानसमेत व्यक्त गरेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले मन्त्री खतिवडालाई अस्पतालको पछिल्लो अवस्था र कोभिड–१९ मा गरेका प्रयासका बारेमा जानकारी गराएका थिए । मकवानपुर मात्र नभइ ७७ जिल्लाको स्वास्थ्य क्षेत्रको विकास आफ्नो जिम्मेवारी भएको भन्दै उहाँले कोरोना संकटले देशनै समस्या ग्रस्त रहेकोले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्ध हासिल हुन सक्दो प्रयास गर्ने बताउनुभयो । मन्त्री खतिवडाले कोरोनाका कारण बालबालिकाहरु निकै नै जोखिम रहेकाले आगामी केही समयमा नै बालबालिकाहरुका लागि कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने गरी सरकारले काम गरिहेको जानकारी दिनुभयो ।
उहाँले बालबालिकाका लागि कोरोना विरुद्धको ४० लाख डोज खोप सम्झौता भइसकेको र थप ६० लाख डोज खोप भित्र्याउने प्रक्रिया जारी रहेको बताउनुभयो । सबै नेपालीहरुलाई पूर्ण मात्रामा खोप सेवा प्रदान गरेर कोरोनालाई परास्त गरियो भन्ने अवस्थामा पुग्ने लक्ष्यसहित सरकार कोरोना नियन्त्रणमा प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।