शिवपुरी वडाकपको उपाधिका लागि वडा नं. ६ र ५ भिड्ने

काठमाडौ । शिवपुरी गाउँपालिका वडा नंं ६ नुवाकोटको शिवपुरी गाउँपालिकामा सञ्चालन भइरहेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शिवपुरी रंगशाला सुनखानीमा भएको नाइन ए साइड फुटबलको पहिलो सेमिफाइनल खेलमा वडा नं. ६ ले वडा नंं ३ लाई सडन डेथमा ६–५ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो । निर्धारित ७० मिनेटको खेल एक/एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा ४/४ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । वडा नं. ३ का समिर तामाङको पेनाल्टी प्रहार वडा नं. ६ का गोलकिपर अमृत जिसीले रोकेपछि खेलमा वडा नं. ६ ले बाजी मारेको हो ।
३१ औं मिनेटमा वडा नंं ६ का खेलाडी अशोक तामाङले आत्मघाती गोल गरेपछि खेलमा अग्रता भने वडा नंं ३ ले लिएको थियो । खेलको ३९ आंै मिनेटमा वडा नं. ६ का अनिस जिसीले बराबरी गोल गरे । त्यसपछि निर्धारित समयमा कुनै टिमले पनि गोल गर्न नसकेपछि खेल बराबरीमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा वडा नं. ६ का अमृत तामाङ, आलिग तामाङ, अनिस जिसी, मनोज बखतीले गोल गरे भने अमृत जिसीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । त्यस्तै वडा नं. ३ का आशिष थिङ, सागर भण्डारी, शिव गुरुङ, सञ्जीव तामाङले गोल गरे भने रमेश तामाङको पेनाल्टी प्रहार वडा नं. ६ का गोलकिपरले रोके ।
सडन डेथमा वडा नं. ६ का सौजल जिसी र सुमन तामाङले गोल गरे । वडा नं. ३ का सबिन तामाङले गोल गरे पनि सडन डेथमा वडा नं. ३ का समिर तामाङको पेनाल्टी प्रहार वडा नं. ६ का गोलकिपरले रोके । खेलमा वडा नं. ६ का गोलकिपर नै प्लेयर अफ द म्याच भए ।
अर्को सेमिफाइनल खेलमा वडा नं. २ ले वडा नंं ५ लाई वाकओभर दिएपछि वडा नं. ५ फाइनलमा प्रवेश गरेको छ । साथै फाइनल प्रवेश गर्न नसके पनि वडा नं. ३ ले प्रतियोगिताको तेस्रो स्थान भने सुरक्षित गरेको छ ।
प्रतियोगिताको उपाधिका लागि अब वडा नं. ६ र वडा नं. ५ भिड्नेछन् । शिवपुरी गाउँपालिकाको सहयोगमा शेराबगर विकास समाजले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल फागुन १७ गते दिउँसो साढे १२ बजे हुनेछ ।