तारकेश्वर नगरपालिकाले जित्यो प्रथम मेयर कप अन्तर नगर करातेको उपाधी

काठमाडौ । तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिताको उपाधी जित्न सफल भएको छ ।
कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वर नगरपालिका टिम च्याम्पियन बन्न सफल भयो। वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वर नगरपालिकाको सहयोग भएको कराते प्रतियोगितामा निलकण्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित दोस्रो भयो। तेस्रो स्थानमा नागर्जुन नगरपालिकाले १ स्वर्ण १ रजत र ३ कास्य हात पार्यो। काठमाडौको ऐतिहासिक नगरी मनमैजुमा भएको २ दिने प्रतियोगिताको पुरुषमा निलकण्ठ नगरपालिकाका बिजय श्रेष्ठ र महिलामा तार्केश्वर नगरपालिकाकी एरिका गुरुङ उत्कृष्ट खेलाडीको उपाधी सहित जनही रु ५००० नगद पुरस्कार हात पार्न सफल भए, भने उदयमान खेलाडी पुरुषमा धनकुटाका रिकेश भन्डरी र महिलामा गोलबजारका प्रनिशा शाही ठकुरी बन्न सफल भए ।
बिजेता खेलाडीहरुलाई प्रमुख अतिथी तार्केश्वर नगरप्रमुख रामेश्वोर बोहोरा, वादोकाइ कराते डो संघ नेपालका अध्यक्ष सुशील कुमार श्रेष्ठ लगायत संघका सदस्य तथा अतिथीहरुले एक कार्यक्रम बिच नगद र प्रमाणपत्रले पुरस्कृत गरे । मनमैजुको स्थानीय वासिन्दाहरुको भरपुर सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल भरबाट २७ वटा नगरपालिकाबाट १९० खेलाडीले १४ वटा स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको प्रवक्ता तथा महासचिब बिकास राजबाहकले बताए ।