तारकेश्वर नगरको आयप्रगति औषत २९ प्रतिशत, फोहोर र सहकारीमा शुन्य राजस्व

तारकेश्वर, ४ कात्तिक । तारकेश्वर नगरपालिकाले आर्थिक वर्षको पहिलो दुई महिनामा नगरको आन्तरिक आयव्यय अनुमान लक्ष्यको औषत २९ प्रतिशत प्रगति गरेको छ ।

नगरपालिकाले लक्ष्य राखेका आयका केही शीर्षकमा राम्रो राजश्व संकलन भएको पाइएको छ । नगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार नगरले सुरुवाती दुई महिनामा सम्पति कर मात्र झण्डै १ करोड ८८ लाख उठाएको छ । जुन नगरले राखेको वार्षिक लक्ष्यको ३७ प्रतिशत हो । नगरले मुख्य आयका शीर्षकहरुमा उठाएको राजस्व सन्तोषप्रद देखिएको छ ।

नगरले सम्पति करका साथै नक्सा पास शुल्कमा पनि एक करोडभन्दा बढि राजश्व संकलन गरेको छ । जुन अनुमानित वार्षिक आयको १४ प्रतिशत हो । नगरले घरबहाल करबापतको आय अनुमानको २३ प्रतिशत अर्थात करिब ६५ लाख राजश्व दुई महिनामा संकलन भएको छ ।

नगरले दण्डजरिवाना अन्तर्गत अनुमानित वार्षिक राजश्व ४ लाख राखेकोमा दुई महिनामा नै ३ लाख ५३ हजार उठाएको छ । नगरपालिकाले वडाहरुबाट सिफारिस हुँदा उठाइने सेवा दस्तुर दुई महिनामा ५६ लाख उठाएको छ । नगरपालिकाले यस शीर्षकमा यो वर्ष साँढे पाँच करोड लक्ष्य राखेको छ ।

फोहोरमैला र सहकारीमा शुन्यकर
तारकेश्वर नगरपालिकाले यस आर्थिक वर्षमा फोहोरमैलाबाट वार्षिक १० लाख राजश्व उठाउने लक्ष्य राखेपनि पहिलो दुई महिनामा राजश्व संकलन शून्य भएको छ । निजी फोहोरमैला कम्पनीले नै फोहोर उठाउने सर्वसाधारणसँग उठाएको पैसा पनि उसैले राख्ने गरेका कारण फोहोरमैलाको राजश्व नगरपालिकासम्म पुगेको छैन । नगरपालिकाले यस आर्थिकवर्षमा फोहोरमैला कम्पनीहरुसँग छलफल गरेर नगरलाई पनि राजश्व संकलन गर्ने उद्देश्य राखेको नगरपालिका कार्यालयको दावी छ । साथै नगरपालिकाले सहकारीहरुबाट पनि वार्षिक १० लाख राजश्व उठाउने उद्देश्य राखेपनि दुईमहिनामा राजश्व संकलन शुन्य रहेको छ ।