बीमा अभिकर्ताको तालिम हुन नसक्दा तारकेश्वरमा रोकियो स्वास्थ्य बीमा कार्यक्रम

तारकेश्वर, ५ फागुन । सरकारको महत्वाकांक्षी स्वास्थ्य बीमा कार्यक्रम शिथिल बन्दै गइरहेका बेला तारकेश्वर नगरपालिकामा सुरु हुन लागेको बीमा कार्यक्रम बीमा अभिकर्ताको तालिम हुननसक्दा रोकिएको छ ।
नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने निर्णय गरेको लामो समय भइसक्दा पनि बीमा कार्यक्रम सुरु हुन नसकेको हो । बीमा गराउनका लागि नगरको ११ वटै वडाबाट अभिकर्ता चयन गरेपनि उनीहरुको तालिम हुननसक्दा बीमा कार्यक्रम प्रभावित भएको हो । माघदेखि बीमा कार्यक्रम सञ्चालन गरिसक्ने उद्देश्य भएपनि स्वास्थ्य बीमा बोर्डले बीमा अभिकर्ताहरुलाई तालिम नदिँदा बीमा कार्यक्रम सुरु गर्न ढिला भएको नगरको स्वास्थ्य शाखा प्रमुख विनोद शाहले जानकारी दिए ।
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत पाँचजनासम्मको परिवारले वार्षिक ३५ सय योगदान रकम तिरेर बीमा गराउन सक्छन् । बीमितहरुले सो रकम तिरेपछि वार्षिक १ लाखसम्मको उपचार नजिकको तोकिएको अस्पताल वा त्यहाँबाट सम्भव नभए ठूलो अस्पतालमा गएर सेवा लिनसक्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गराएका नागरिकको शोधभर्ना बापतको करोडौं रकम बीमा बोर्डले अस्पतालहरुलाई भुक्तानी दिन नसकेको, बीमितहरुले समयमै उचित उपचार नपाएको गुनासो गरिरहेका बेला पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमप्रति जनताको भरोसा घट्न थालेको भन्दै आलोचकहरुले सरकारको आलोचना गरिरहेका छन् ।
५ फाल्गुन २०७९, शुक्रबार