देशकै उत्कृष्ट ठहरिएको त्रिशुली अस्पतालको गम्भीर त्रुटी, २४ वर्षीय सुत्केरीको मृत्यु

नुवाकोट, १२ फागुन । देशकै उत्कृष्ट सामुदायिक अस्पतालका रुपमा प्रमाणपत्र पाएको नुवाकोटको त्रिशुली अस्पतालको गम्भीर त्रुटीका कारण एक सुत्केरीले ज्यान गुमाउनुपरेपछि त्रिशुली अस्पताल नुवाकोटमा उत्पन्न विवाद बहुपक्षीय छलफलपछि क्षतिपूर्ति दिने निर्णयका साथ टुंगिएको छ ।

नुवाकोट सदरमुकाम विदुर वडा नं ५ की २४ वर्षीया गर्भवति सरिता न्यौपाने गजुरेलको फागुन १० गते राजधानीको मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो । उनको बच्चा भने जीवित छ । सरिताको मृत्युमा अस्पतालले चरम लापर्वाही गरेको पीडित पक्षको आरोप थियो । सुत्केरी गराउन त्रिशुली अस्पताल ल्याइएकी सिताको पाठेघरमा कम पानी भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएपछि बिरामी पक्षले त्रिशुली अस्पतालमै शल्यक्रिया गराएका थिए । उनको शल्यक्रिया एमडीजीपी डा. दीपक कुवँरले गरेका थिए । पीडित पक्षका अनुसार शल्यक्रियापछि सुत्केरीले चिकित्सकको निगरानी नपाउँदा उनको स्वास्थ्य जटिल भएको थियो । बिरामी पक्षका अनुसार अस्पतालको ब्लड बैंकमा ताल्चा लगाइएको थियो । जसका कारण उनीहरुले रगत समेत पाउन सकेनन् ।

पीडित पक्ष र अस्पतालपक्ष बीच छलफल गराउन रहोवरमा बसेका विनपा ५ का पूर्ववडाध्यक्ष शिव चित्रकारका अनुसार छलफलका दौरान अस्पताल प्रशासनले बिरामी पक्षलाई पहिले नै रिफर गर्न सुझाएको दावी गरेको थियो । यद्यपी बिरामी पक्षले भने सुत्केरीलाई अघिल्लो दिन अस्पतालले बेवास्ता गर्दा र अन्यत्र रिफर नगर्दा दुर्घटना भएको दावी गरेको छ । अस्पताल पक्षको दावी अनुसार हजरौं सुत्केरीको शल्यक्रिया गर्दा एकाधको हकमा पाठेघरको पानी फोक्सोमा पुगेर निमोनिया हुने गर्दछ । न्यौपानेको हकमा पनि त्यस्तै समस्या भएको हो ।

बिरामी पक्षले अस्पतालले ढिलोगरि रिफर गर्दा बिरामीको काठमाडौं पुग्दासम्म सबै अंगले काम नगर्ने अवस्था भइसकेको थियो । उनीहरुले अस्पतालले चरम लापर्वाही गरेको भन्दै लास उठाउन नमानेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सम्पन्न छलफलले दुई पक्ष र नगरपालिकाबीच ६ बुँदे सहमति गरेर घटना सुल्झाइएको हो ।

मृतक परिवारलाई ५ लाख राहत, नाबालकलाई शिक्षादिक्षाको व्यवस्था
मृतक पक्ष, जिल्ला प्रशासन, अस्पताल र विनपाका अधिकारीहरु सम्मिलित छलफलले विभिन्न ६ बुँदे सहमति निकालेको छ । अकल्पनीय रुपमा सुत्केरीको मृत्यु भएकाले उनलाई श्रद्धाञ्जली दिने र परिवारलाई समवेदना प्रकट गर्ने पहिलो बुँदाको सहमतिमा उल्लेख छ । दोश्रो बुँदामा अस्पतालको आन्तरिक व्यवस्थापन सुधार गर्न ७ दिनभित्र रायसहित प्रतिवेदन दिनेगरि सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको संयोजकत्मा छानवीन समिति गठन गर्ने निर्णय भएको छ । सो छानवीनबाट दोषी ठहर गरिएकालाई कार्वाही गर्ने तेश्रो बुँदामा उल्लेख छ । पीडित पक्षले भने सरिताको शल्यक्रिया गरेका डा. दीपक कुवँरलाई निलम्बन गर्न माग गरेका थिए ।

त्यस्तै विदुर नगरपालिकाको सहयोगमा अस्पतालले नवजात शिशुको लालनपालनका लागि १३ दिनभित्र ५ लाख उपलब्ध गराउने निर्णय भएको छ । साथै, आइन्दा हुनसक्ने यस्तो घटनालाई मध्यनजर गर्दै जिल्लामा एउटा कोष बनाउने र त्यसका लागि सबै निकायमा सिफारिस गर्ने भनिएको छ । सहमतिका अनुसार मृतकका नाबालिकाहरुको हकमा त्रिशुली अस्पतालले निःशुल्क स्वास्थ्य सेवा र नगरपालिकाले निःशुल्क शिक्षा उपलब्ध गराउने पनि निर्णय भएको छ ।