उपाध्यक्षमा निवर्तमान प्रशासकीय अधिकृत राखेपछि तारकेश्वरको योजना आयोग विवादमा

तारकेश्वर, १४ भदौ । तारकेश्वर नगरपालिकाले योजना आयोग बनाएर निवर्तमान प्रमुख प्रशासकीय अधिकृतलाई नै उपाध्यक्ष बनाएपछि त्यसको आलोचना भएको छ । नगरप्रमुख कृष्णहरि महर्जनले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णप्रसाद घिमिरेलाई तारकेश्वर योजना आयोगको उपाध्यक्ष बनाएसँगै यस विषय बहसमा आएको हो ।

नगर कार्यपालिकाले तारकेश्वर नगरभित्र योग्य र सक्षम व्यक्ति हुँदाहुँदै नगर बाहिरका व्यक्ति र निवर्तमान प्रशासकीय अधिकृतलाई नै उपाध्यक्ष बनाएको भन्दै नगरकार्यपालिकामा दुई तिहाइ बहुमत भएको नेपाली काँग्रेस स्वयं र अन्य राजनीतिक दलले समेत आपत्ति जनाएका छन् ।

तारकेश्वर अनलाईनसँग कुरा गर्दै एकजना वडाध्यक्षले भने, ‘उहाँ जम्मा ७ महिना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुभयो । सो क्रममा त्यस्तो उल्लेखीय काम भएकोजस्तो पनि लाग्दैन । मेयरसाबले खै किन उहाँलाई नै बनाउनुभयो । उहाँ नै जान्नुहोला, सक्षम मान्छे त तारकेश्वरमा पनि थिए ।’

नगरकार्यपालिकाले घिमिरेलाई उपाध्यक्ष बनाएको योजना आयोगको अध्यक्ष नगरप्रमुख रहने व्यवस्था गरिएको छ । त्यस्तै सदस्यमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रमुखले नियुक्त गरेको एकजना कार्यपालिका सदस्य र अन्य विज्ञका रुपमा २ जना प्रमुखले नियुक्त गर्ने व्यवस्था बनाइएको छ । यद्यपी उपाध्यक्षमा नगरबाहिरको मान्छे आउँदा यहाँको भूगोल, समाज र सरोकारवालासँग समन्वय हुन कठिन हुने कतिपय बुझाई छ ।

यता नगर प्रमुख कृष्णहरि महर्जनले भने, प्रमुख प्रशासकीय अधिकृत रहँदा घिमिरेको उत्कृष्ट कार्यसम्पादन देखेका कारण कानुनसम्मत उनलाई नै उपाध्यक्ष बनाइएको जिकिर गरे । तारकेश्वर अनलाईनसँग कुरा गर्दै प्रमुख महर्जनले योजना आयोग भर्खरै बनेकाले यसको सकरात्मक परिणाम हेर्न केही समय पर्खिनुपनेै बताए ।

यसअघि काठमाडौं महानगरपालिकाले लगायत कतिपय स्थानीय तहले स्थानीय सरकारको योजना आयोग बनाएर काम गर्ने अभ्याँस सुरु भएपछि तारकेश्वरले पनि नयाँ अभ्यास थालेको हो ।