किसानका साथमा बागमती प्रदेश

नुवाकोट, ५ असार । सातवटै प्रदेशले असार १ गते नै बजेट सार्वजनिक गरिसकेका छन् । सबै बजेटमा कृषिको दिगो विकासका लागि आधुनिकीकरण र यान्त्रिकीकरणमा जोड दिइएको छ ।

कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम, चक्लाबन्दीमा आधारित सामूहिक खेती, बाँझो जग्गामा खेतीजस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन र कृषिको औद्योगिकीकरण, व्यवसायीकरणमा जोड दिइएको छ ।

बागमती प्रदेशमा दूध उत्पादक कृषकलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदानलाई निरन्तरता दिएको छ । सो प्रदेशले साना किसानका लागि प्राविधिक सहयोगसहित जीविकोपार्जन सुधारका लागि ‘गरिब किसानको साथमा बागमती प्रदेश सरकार’ कार्यक्रम अभियान सञ्चालन गर्ने भएको छ ।

त्यस्तै बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग अभियान चलाउने, १७ हजार सात सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणका लागि २० करोड विनियोजन, मकवानपुरमा दूध पाउडर प्लान्ट, चकलेट कारखाना सञ्चालन, मुख्यबालीको न्यूनतम समर्थन मूल्य कायम गरी बिक्री नभएका कृषि उपज भण्डारण तथा बिक्री वितरणको व्यवस्था मिलाउनेलगायतका योजना समेटिएको छ ।

बागमती प्रदेशले रासायनिक मलको प्रयोग कम गर्दै प्राङ्गारिक खेती पद्धति विस्तार एवं प्रवद्र्धन गर्न बजेटको व्यवस्था गरेको छ ।