कोरिया पठाउने काम नरोक्न संसदीय समितिको निर्देशन

बिहिबारको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षसँगको छलफलपछि कोभिड–१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन समितिले निर्देशन दिएको हो ।

सभापति रामनारायण बिडारीले पीडत युवाले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफू समक्ष उजूरी दिएकाले सरकारी अधिकारीसँग छलफल गर्नुपरेको र यसबारे तत्काल तदारुकताका साथ कामअघि बढाउनुपर्नेमा जोड दिए ।

दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिडको बीमा गराई त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्ने गरी सिधा हवाइ सम्पर्कमार्फत् पठाउन आग्रह गरेकामा दोस्रो लहरको संक्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए ।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सिधा हवाइ उडानका लागि नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

सदस्य राधेश्याम अधिकारीले कोरियास्थित नेपाली दूतावासले पनि यसबारे पनि पहल गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै अर्का सदस्य डा. खिमलाल देवकोटाले पीडित युवालाई मन्त्रालय र संसदीय समितिमा धाउन लगाउनु गलत भएकाले सम्बन्धित निकायका अधिकारीबाटै पहल हुनुपर्ने बताए ।

१४ श्रावण २०७८, बिहीबार