एसिड आक्रमणमा परेकी पवित्रालाई नागार्जुन नगरपालिकाले रोजगारी दिने
तारकेश्वर, १३ साउन । गत बिहीबार साँझ एसिड प्रहारबाट घाइते भएकी ओखलढुंगा घर भई नागार्जुन नगरपालिका वडा नं ४,बाफलमा बस्दै आएकी २२ वर्षीया युवती पवित्रा कार्कीलाई नागार्जुन नगरपालिकाले रोजगारी दिने भएको छ ।
सोमबार नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले कीर्तिपुर अस्पतालमा पुगी कार्कीलाई सहानुभुती प्रदान गर्नुका साथै उपचारपछि नगरपालिकाले रोजगार उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
पीडित युवतीलाई भेट्न मेयर बस्नेतसहित नागार्जुन नगरपालिका कर्माचारीहरु कपिल प्रसाद पौडेल र नारायण प्रसाद तिमिल्सिीना अस्पताल पुगेका थिए ।भेटघाटको क्रममा मेयर बस्नेतले एसिड प्रहार गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै,एसिड बिक्री वितरणलाई नियमन गर्न समेत सरकारलाइ आग्रह गरे । उनले घाइते युवतीको शीघ्रस्वास्थ्य लाभको कामना पनि गरे । घरबाट दही किन्न भनेर निस्किएकी पवित्रामाथि साउन ८ गते साँझ सीतापाइलामा एसिड प्रहार भएको थियो । उनलाई एसिड प्रहार गर्ने र प्रहार गर्न लगाउने दुबैलाइ प्रहरीले सोही दिन नियन्त्रण गरि कारवाही प्रकृया अघि बढाइसकेको छ ।