नेकपालाई फुटबाट जोगाउने बामदेवका ६ सुत्र

तारकेश्वर, १३ साउन । सत्ता र शक्ति संघर्षमा सन्तुलन नमिल्दा फुटको संघारमा पुगेको सत्तारुढ दल नेकपाको विवाद सतहमै छताछुल्ल भएको छ ।
यो अवस्थमा सो पार्टीका उपाध्यक्ष एवं सचिवालय सदस्य बामदेव गौतमले भने पार्टी जोगाउने ६ वटा सुत्र निकालेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि दुबै अध्यक्ष समक्ष राखेको प्रस्ताव भनेर उपाध्यक्ष गौतमले केही सहमतिका उपाय औंल्याएका छन् । गौतमले आगामी एकता महाधिवेशनसम्म केपी ओलीलाई नेकपा अध्यक्ष र प्रतिनिधि सभाको यो कार्यकालभरी प्रधानमन्त्री रहन दिने प्रस्ताव गरेका छन् । त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने महाधिवेशन सम्म सम्पूर्ण रुपमा कार्यकारी अध्यक्ष बनाइनुपर्ने गौतमको मत छ ।
त्यस्तै महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीको दैनन्य काममा पार्टीले हस्तक्षेप नगर्ने तर, राष्ट्रिय र अन्तराष्ट्रिय विषयमा निर्णय गर्दा पार्टी सचिवालयसँग परामर्श गरिनुपर्ने गौतमको सुझाव छ । कर्मचारी तथा सुरक्षा निकायको सरुवाबढुवालाई निश्चित मापदण्ड बनाउनपनि उपाध्यक्ष गौतमले माग गरेका छन् ।
त्यस्तै नेकपा सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुनर्गठन तथा राजनीतिक र संवैधानिक नियुक्ति गरिनुपर्ने प्रस्ताव छ । संसदमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुअघि पार्टी सचिवालयको परामर्श लिने र आउँदा बैठकहरु पार्टी कार्यालयमै आयोजना गरिनुपर्ने पनि उपाध्यक्ष गौतमले दुई अध्यक्षलाई दिएको प्रस्तावपत्रमा उल्लेख छ । पछिल्लो समय नेकपाको किचलो व्यवस्थापनमा सक्रिय भएर लागिरहेका बेला गौतमले नयाँ सुत्र औंल्याएका हुन् ।