विकास बजेट खर्च गर्न नसक्नु तारकेश्वर नगरको असफलता होः अर्थविद खड्का

तारकेश्वर, ३ साउन । वरिष्ठ अर्थविद् प्राडा केशवराज खड्काले १६ प्रतिशतमात्र विकास बजेट खर्च हुनु तारकेश्वर नगरपालिकाको असफलताको भएको बताएका छन् ।
सबै स्थानीय तहले विकास बजेट बढाएका बेला तारकेश्वर नगरपालिकाले भने विकास बजेट खर्च गर्न नसक्नु र यो आर्थिकवर्षमा घटाउनु आश्चर्यजनक भएको उनको भनाइ छ । उनले भने ‘आन्तरिक आम्दानी १६ करोड गर्ने उद्देश्य राख्ने तर जम्मा १८ करोडमात्र विकास बजेट छुट्याउनु दुःखद् छ ।’
मनमैजु सांस्कृतिक समाजले शनिवार मनमैजुमा आयोजना गरेको ‘मन्थन’ कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी ग्रामिण आदर्श क्याम्पसका पूर्वप्राचार्य समेत रहेका प्राडा खड्काले सबै स्थानीय तहले पञ्चवर्षीय योजना बनाएर काम गर्नुपर्ने सुझाव दिए । ठोस उद्देश्य र योजनाका आधारमा स्थानीय तहले काम गरे प्रभावकारी हुने उनको विश्वास छ । अर्थविद खड्काले स्थानीय सरकारलाई सजग र उत्तरदायी एवं क्रियाशिल बनाउन स्थानीय नागरिकमा विकासको उपभोग गर्ने अभिलाषा बढ्नुपर्ने बताए ।
मौद्रिक नीतिमाथि टिप्पणी गर्दै डा. खड्काले बैंकलाई कृषकलाई सस्तोमा ऋण देउ भन्नुभन्दा पनि कृषकलाई सक्षम बनाउनुपर्ने बताए । कृषकमाथि रहेका दलालहरुका कारण कृषकहरुको जीवनस्तर सुध्रिन नसकेको उनको तर्क छ । विकासका प्रकृयालाई संस्कृतिसँग जोड्न सकेमात्र प्रभावकारी हुने प्राडा खड्काले बताए ।
मनमैजु सांस्कृतिक समाजले शनिवारदेखि थालेको मन्थन श्रृंखलालाई निरन्तरता दिने बताएको छ । समाजको सञ्चार विभाग प्रमुख श्रीराम फुटुंगेले हरेक महिनाको पहिलो शनिवार मन्थन श्रृंखला आयोजना गरिने जानकारी दिए । यस श्रृंखलामा हरेक कार्यक्रममा फरक फरक विज्ञ र विशेषज्ञ ल्याइने जनाइएको छ ।
३ श्रावण २०७७, शनिबार