साउनको अन्तिम सोमबार बौंडेश्वरमा दर्शनार्थीको भीड (फोटो फिचर)
![](https://tarakeshworonline.com/wp-content/uploads/2020/08/baudeswor3-1024x768.jpg)
तारकेश्वर, २६ साउन । टोखाको प्रसिद्ध बौडेश्वर धाममा साउनको अन्तिम सोमबार भक्तजनहरुको भीड लागेको छ ।
भगवान शिवको पूजा आराधना र दर्शन गर्न आएका अधिकांश भक्तजनले मास्क लगाएर कोरोना संक्रमणको जोखिम घटाएका थिए भने कतिपयले असुरक्षित ढंगबाट मन्दिर दर्शन गरेका थिए । स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेपनि धार्मिक आस्थाका कारण भक्तजनको घुइँचो लागेको हो । यस मन्दिरमा मंगलबार कृष्णअष्टमीमा पनि भक्तजन दशनार्थ पुग्ने गर्छन ।
काठमाडौंको सामखुशी चोकबाट टोखा रोडबाट ९ किलोमिटर र बालाजु बाइपासबाट करिब ८ किलोमिटर उत्तरतर्फ बौंडेश्वर महादेवको मन्दिर, गुपबा र झरना रहेको छ । साविक झोर महांकाल गाविस हाल टोखा नपामा रहेको यस धार्मिक स्थल आदिम कालदेखि नै पवित्र धार्मिक स्थलका रुपमा पुजिएपनि प्रचार प्रसारको अभावमा धेरैलाई थाहा नहुनसक्छ ।
बौंडेश्वर धार्मिक, पर्यटन एवं वातावरणीय दृष्टिले महत्वपूर्ण रहेको छ । याँ करिब १ सय १० फिट र ८० फिटका आकर्षक दुईवटा झरना छन् भने विशाल ढुँगाको गर्भमा करिब ५० फिटको गुफा रहेको छ। शिवपुरी राष्ट्रिय निकुन्जसँगै जोडिएको झोरको झरना ठूलो चट्टानबाट बगेको र त्यहीँ चटानमुनिको गुफाभित्र गणेश, नागराज, नागरानी, शिवको मुर्ति शिवलिंग रहेको विश्वास छ ।
बौडेश्वर गुफाभित्र स्थापित महादेवको नाउँबाट यस तीर्थस्थललाई बौडेश्वर महादेव भन्न थालिएको हो । उक्त झरनामा स्नान गरी गुफा भित्रको महादेवको पूजा गरेमा सोचेको कुरा पुग्दछ भन्ने धार्मिक विश्वास रहिआएको छ । गुफा अगाडिको कुण्डभित्र १०८ कुण्ड रहेको पनि विश्वास गरिन्छ ।