नागार्जुन नगरपालिका बन्यो भू-सेवा केन्द्र सञ्चालन गर्ने पहिलो स्थानीय तह

काठमाडौं, २९ साउन । उपत्यकाभित्रको नागार्जुन नगरपालिका भू सेवा केन्द्र स्थापना गर्ने नेपालकै पहिलो स्थानीय तह बनेको छ ।

भूसेवा स्थापना भएसँगै सो स्थानीय तहका जनताले आफ्नो जग्गाको लिखत नगरपालिकालाई बुझाए पुग्ने भएको छ । यसै हप्ताबाट सञ्चालनमा आएको केन्द्रमा हालका लागि नागरिकले अनलाईनमार्फत नै आफ्नो जग्गाको लिखत विवरणहरु राख्न सक्ने छन् । नगरपालिकाले केन्द्र स्थापना गरेसँगै जग्गासम्बन्धी लिखत तयार गर्न लेखापढी वा कानुन व्यवसायीको सहयोग लिन नपर्ने भएको छ । गत सोमबार कलंकीस्थित मालपोत कार्यालयको जग्गा प्रशासन र भूसेवासम्बन्धी सेवा भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलले नागर्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतलाई हस्तान्तरण गरे । योसँगै स्थानीय तहको जग्गा प्रशासन अब जनप्रतिनिधिको हातमा पुगेको हो भने नागार्जुन यो सेवा सुरु गर्ने पहिलो स्थानीय तह बनेको हो । सो अवसरमा नगरका मेयर मोहनबहादुर बस्नेतले मालपोतका काम नगरमा आउनुलाई संविधानको कार्यान्वयन र स्थानीय तहको प्रभावकारितका रुपमा लिएको बताए ।

यो प्रशासनिक हस्तान्तरणको पहिलो चरण भएपनि संसदमा प्रकृयामा रहेको मालपोत ऐन संशोधन भएर आएसँगै हाल मालपोत अधिकृतले गर्ने काम स्थानीय तहको प्रमुख कार्यकारी अधिकृत वा उसले तोकेको व्यक्तिले गर्नसक्ने हुनेछ ।

कलंकी मालपोत कार्यालयले यसअघि नै आफ्नो क्षेत्राधिकार भित्र पर्ने नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरी र महानगरका केही वडाका कर्मचारीलाई यससम्बन्धमा तालिम दिइसकेको छ ।

मालपोत कार्यालयले जनताका लिखत संकलन गर्नका लागि आफ्नो सफ्टवेयरको पासवर्ड नगरपालिकालाई दिइसकेको र त्यसैबाट नागरिकले अनलाईन विवरण राख्नसक्ने नगरपालिकाको जग्गा प्रशासन शाखाका प्रमुख नारायण प्रसाद तिमिल्सिनाले तारकेश्वर अनलाईनलाई जानकारी दिए । तत्कालका लागि भूसेवा केन्द्रबाट जग्गा प्रशासनको प्रारम्भिक काम मात्रै हुने भएपनि भविष्यमा जग्गाको किनबेच, लिखत पारित, संशोधन, जग्गा रोक्का, फुकुवा, लेखापढी लगायतका काम स्थानीय तहले नै गर्न सक्नेछन् । संविधानमा व्यवस्था भएअनुसार मालपोत सम्बन्धी कार्य स्थानीय तहमा हस्तान्तरण गर्ने क्रम सुरु भएको हो ।

२९ श्रावण २०७७, बिहीबार