तारकेश्वर नगरपालिकामा ३६ जनालाई कोरोना संक्रमण, सबैभन्दा धेरै मनमैजुमा

तारकेश्वर, २ भदौ । तारकेश्वर नगरपालिकामा हालसम्म ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तारकेश्वर नगरको स्वास्थ्य शाखाको तथ्यांक अनुसार नगरपालिकाको ११ वटा वडामा गरि गरि जम्मा ३६ जनालाई कोभिड १९ को संक्रमण भएको हो । संक्रमण हुनेमा २१ जना पुरुष र १५ जना महिला रहेका छन् । संक्रमण भएकामध्ये ५ जना महिला र एक पुरुष गरि ६ जनालाई संक्रमण निको भएको छ ।
सबैभन्दा धेरै मनमैजुमा
तानपा वडा नं १० मनमैजुमा सबैभन्दा धेरै १२ जनालाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण बढेसँगै सो वडाका विभिन्न ठाउँमा सिल गरिएको र संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिंगको काम भइरहेको नगरको स्वास्थ्य शाखाले तारकेश्वर अनलाईनलाई जानकारी दियो । तानपा १० पछि सबैभन्दा संक्रमित नगरको वडा नं ५ गोलढुंगाक्षेत्रमा भेटिएका छन् । सो वडामा ३ जना पुरुष र ८ जना महिलामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै वडा नं ७ फुटुंगमा एक महिला र एक पुरुषमा गरि २ जनामा संक्रमण देखिएको छ । वडा नं ११ नेपालटारमा ४ जना पुरुषमा कोभिड संक्रमण पुष्टि भएको छ । यस्तै वडा नं ४ गोलढुंगामा भने २ जना पुरुषमा संक्रमण फेला परेको छ । वडा नं ८ मनमैजुमा ३ पुरुष र एक महिला गरि ४ जनामा संक्रमण देखिएको छ । वडा नं २ काभ्रेस्थलीमा १ जना पुरुषमा कोरोना संक्रमण भएको छ ।
३ सय १६ को स्वाब परीक्षण, चारवटा वडामा शुन्य संक्रमण
नगरपालिकाको विभिन्न वडाका गरि हालसम्म ३ सय १६ जनाको कोभिड परीक्षण गरिएको छ । ती मध्ये वडा नं १ सांग्ला, वडा नं ३ जीतपुरफेदी, वडा नं ६ धर्मस्थली र वडा नं ९ मनमैजुमा हालसम्म कसैलाई पनि संक्रमण पुष्टि नभएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । नगरभित्र हालसम्म कोरोना संक्रमणको कारण कसैको ज्यान गएको छैन ।