कोरोना संक्रमित बढेपछि साङ्ला स्वास्थ्य चौकीलाई आइसोलेसन बनाउने तारकेश्वर नगरको तयारी

तारकेश्वर, २ भदौ । कोरोना संक्रमित बढेसँगै तारकेश्वर नगरपालिकाले सम्भावित जोखिम कम गर्न नगरस्तरीय आइसोलेसन कक्ष तयार गर्ने गृहकार्य सुरु गरेको छ ।
नगरको वडा नं १ स्थित साङ्ला स्वास्थ्य चौकीको भवनलाई आइसोलेसन कक्ष बनाउने तयारी थालेको नगरका मेयर रामेश्वर बोहोराले तारकेश्वर अनलाईनलाई जानकारी दिए । मंगलबार तारकेश्वरमा सक्रिय पत्रकारहरुको संस्था तारकेश्वर पत्रकार मञ्चका पदाधिकारीसँगको छलफलका क्रममा मेयर बोहोराले अब क्वारेन्टाइनको औचित्य नरहेको भन्दै स्वास्थ्य सेवा सहितको आइसोलेसन कक्ष तयारीमा जुटेको बताएका हुन् । सो क्रममा मेयर बोहोराले कोभिड नियन्त्रणका लागि नगरपालिकासँग प्रशस्त बजेट भएको भन्दै त्रसित र आतंकित नहुन नगरवासीलाई आग्रह गरे ।
हालसम्म नगरपालिकामा ३६ जनालाई कोरोना संक्रमण देखिएको छ भने ८ जनालाई निको भइसकेको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।
२ भाद्र २०७७, मंगलवार