टोखा नगरपालिकामा कोरोना संक्रमितले प्रतिदिन ३ सय ५० भत्ता पाउने

तारकेश्वर, ४ भदौ । टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३ सय ५० रुपैयाँ खर्च उपलब्ध गराउने भएको छ ।
नगरप्रमुख प्रकाश अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टिनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिस अनुसार सन्तुलित भोजनबापत प्रतिदिन ३ सय ५० रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय भएको हो ।

कार्यपालिका बैठकले वडा नम्बर २ मा अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३० देखि ४० बेडको आइसोलेसन कक्ष बनाउने निर्णय निर्णय पनि गरेको नगर प्रमुख अधिकारीले बताए । नगरप्रमुख अधिकारीले भने, ‘नगरभित्र अहिलेसम्म ७७ जना संक्रमित भेटिएका छन् । २३ जना होम आइसोलेसनमा बसेका छन् भने २५ जना अस्पतालमा छन् । अन्य डिस्चार्ज भएर घर गइसकेका छन् । तर संक्रमित बढ्दै गएमा सोही प्राथमिक केन्द्रमा ९० बेडको आइसोलेसन बनाउने तयारी गरिरहेका छौं । ’

नगरपालिकाभित्र आइसोलेसन सेन्टर निर्माण तथा व्यवस्थापनका लागि उपप्रमुख ज्ञानमाया डंगोलको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ ।

कोरोना संक्रमित बढेमा उनीहरुलाई राख्नका लागि वडा नं १ को सामुदायिक भवन, ६ को सामुदायिक अध्ययन केन्द्र, ९ को पिस बैंक्वेट, ११ को सामुदायिक भवन, ९ को नेवाः पुछः सामुदायिक भवन, वडा नं ७ को राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन प्रयोगमा ल्याउने बारेमा गठित समितिले अध्ययन गर्ने मेयर अधिकारीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।