कोरोना संक्रमण बढेपछि मनमैजुको नविननगरमा प्रवेश निषेध

तारकेश्वर, ४ भदौ । तारकेश्वर नगरपालिका वडा नं ९ मा कोरोना संक्रमित फेला पर्न थालेपछि सो वडाको नवीन नगरमा बुधवारदेखि प्रवेश निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा गर्ने निर्णय गर्नुअघि नै नवीन नगरमा माक्स नलगाई हिँड्न निषेध गरिएको हो । त्यस्तै ठेलागाडामा सामान बेच्ने, कवाडी र भिक्षा माग्न आउनेलाई कोरोना महामारीभर निषेध गरिएको छ । नवीन नगरभित्र भएका खाद्यान्न पसलहरुमा अनावश्यक भीड नगर्न र सामाजिक दूरी कायम गर्दै खाद्यान्न बिक्री वितरण गर्न पसलेहरुलाई अनुरोध गरिएको छ ।

त्यस्तै तीजजस्ता धार्मिक कार्यक्रममा अनावश्यक पाहुना जम्मा नगर्न समेत अबिल गरिएको छ । सार्वजनिक स्थलमा, मठ÷मन्दिरमा पूजा आजा गर्न नजानको लागि अनुरोध गरेको कुरा नविन नगर उपभोक्ता तथा टोल विकास समितिका सचिव चेतनारायण न्यौपानेले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

उनकाअनुसार यसअघि लकडाउनको समयमा पनि नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले किटनासक औषधि छर्कनुका साथै, राहत वितरण गरेको थियो ।