आइसोलेसन बनाउन होटल खोज्दै तारकेश्वर नगरपालिका
तारकेश्वर, ५ भदौ । तारकेश्वर नगरपालिका भित्र कोरोना भाइरस संक्रमित बिरामी बढ्न थालेसँगै नगर कार्यपालिकाले सम्भावित संक्रमण फैलनबाट रोक्न आइसोलेसन बनाउने तयारी गरेको छ ।
आइसोलेसन बनाउने भनेर अघिल्लो साता नै तयारी गरेपनि नगरपालिकाले सकेको थिएन । यसअघि नगरपालिकाले वडा नं १ सांग्लामा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई आइसोलेसन बनाउने बताएको थियो । त्यो सँगै हाल आएर नगरपालिकाले आठमाइलमा रहेका होटलहरुलाई आइसोलेसन बनाउने तयारी गरेको हो । संक्रमितको संख्या बढेसँगै तिनलाई व्यवस्थापन गर्न तत्कालका लागि होटलहरुमा पनि कुरा भैरहेको नगरपालिकाका मेयर रामेश्वर बोहोराले तारकेश्वर अनलाईनलाई जानकारी दिए । सांग्लास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आइसोलेसन बनाउन अनुगमन गर्न लागिएको बोहोराले बताए ।
‘स्वास्थ्य केन्द्र र होटलहरु दुवैमा पूर्व अनुगमन गरेर अध्ययन गर्दैछौं एकदुईदिनमा टुंगो लाग्छ ।’ उनले भने । कतिवटा आइसोलेसन बनाउने भन्नेबारेमा छलफल भैरहेको बोहोराको भनाइ छ ।
तारकेश्वर नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै नगरकार्यपालिकालाई चुनौति थपिएको छ । नगरपालिकामा हालसम्म ४६ जनालाई कोरोना संक्रमण भैसकेको छ ।