तारकेश्वरमा थप एकजनालाई कोरोना संक्रमण, संक्रमितको टोल नै सिल गरियो

तारकेश्वर, ६ भदौ । तारकेश्वर नगरपालिकाको वडा नं १ सांग्लास्थित आनन्द टोलको सुनगाभा बस्तीमा एकजनालाई कोरोना संक्रमण देखिएसँगै वडा कार्यालय र प्रहरकिो रहोवरमा सो क्षेत्रमा सिल गरिएको छ ।

सो बस्तीमा बस्ने एक ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण भएपछि उनको घर छिर्ने ठाउँ सिल गरिएको हो । सिल गरेसँगै उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिंग गरि परीक्षण गराउन नगर स्वास्थ्य शाखामा सिफारिस गरिएको वडा नं १ का अध्यक्ष विदुर सापकोटाले तारकेश्वर अनलाईनलाई जानकारी दिए । काठमाडौंको म्हैपीमा टेलर्स व्यवसाय गर्ने ती व्यक्तिको परिवारका सदस्यलाई कोरोना संक्रमण नदेखिएको भनिएपनि ती व्यक्ति स्वयं र परिवारका सदस्यको पुनः पीसीआर परीक्षण गरिने वडाध्यक्ष सापकोटाको भनाइ छ । संक्रमित व्यक्ति हाल टेकु सरुवा रोग अस्पतालमा रहेका छन् ।

तारकेश्वर नगरमा योसँगै कोरोना संक्रमण हुनेको संख्या ४७ पुगेको छ । यसबाहेक शुक्रवार कोरोना भाइरस संक्रमणको आशंकामा मनमैजुको मानसिंह स्कुलबाट ७९ जनाको स्वाब संकलन गरिएको छ । ती नमूनाको हालसम्म परीक्षण रिपोर्ट आएको छैन ।

६ भाद्र २०७७, शनिबार