तारकेश्वरको दुःखः अस्पताल मासेर कार्यालय, आइसोलेसन खोज्न होटल !

तारकेश्वर, ६ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै नगरपालिकाका पदाधिकारीहरु आइसोलेसन व्यवस्थापनका निम्ति भन्दै दौडधूपमा लागेका छन् ।

नगरपालिकाले आइसोलेसनका लागि होटलहरुको अनुगमन गर्न थालेको समाचार तारकेश्वर अनलाईनमा प्रकाशित भएसँगै धर्मस्थलीका स्थानीयले भने नगरप्रशासनको चर्को आलोचना गरेका छन् ।

धर्मस्थलीमा सञ्चालनमा आइसकेको अस्पताल मासेर वडा कार्यालय बनाउने तर, महामारी आउँदा आइसोलेसन खोज्न होटल चाहार्ने भन्दै नगर कार्यपालिकाको विरोध गरिएको हो । तारकेश्वर नगपालिका वडा नं ६ धर्मस्थलीमा रहेको हेल्पिंग हेण्ड्स अस्पताल मासेर सो भवनमा वडा कार्यालय र नगरपालिकाको शाखाहरु सञ्चालन गरिएको छ ।

धर्मस्थलीका स्थानीय एवं काँग्रेस नेता हरि तिमिल्सिनाले २०७० सालमा सामुदायिक अस्पतालको रुपमा स्थापना भएको अस्पतालमाथि मेयरको नजर नपरेको देख्दा दुःख लागेको बताए ।

वडा कार्यालयले आफ्नो बेग्लै भवन बनाउनुको साटो जनताको सामुहिकताबाट बनेको अस्पतालमा डेरा जमाएर बसेको भन्दै उनले सामाजिक सञ्जालमा नगरपालिकाको चर्को आलोचना गरेका छन् ।

अस्पताल माथि वडा कार्यलयले गरेको अतिक्रमणलाई हटाएर यसलाई पुनः संचालनमा ल्याएर जनतालाई यो कोरोना कहरमा सुविधा दिन उनले नगरपालिकासँग माग गरेका छन् । होटलभन्दा अस्पताल संचालन गर्न सस्तो हुनेभन्दै स्थानीयको तर्फबाट नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

कसरी बनेको थियो अस्पताल ?
हाल वडा कार्यालय र नगरपालिकाको शाखाहरु रहेको सो भवन १ करोडभन्दा बढि लगानीमा २०७० सालतिर निर्माण सम्पन्न भएको हो । अस्पताल सञ्चालन गर्न लामो समयदेखि श्रीमद्भागवत सप्ताहमार्फत स्थानीयबाट दान संकलन गरि सो अस्पताल भवन निर्माण गरिएको थियो । दुईपटक सप्ताह पुराण लगाएर संकलन गरिएको पैसाबाट स्थानीय रुपमा समिति बनाएर भवन बनाइएको थियो । अस्पताल बनाउनका लागि स्थानीयले दान दिएबापत पाएका प्रमाणपत्र ताजै छ । तर, अस्पताल बनाउने भनिएको ठाउँमा नगरपालिकाले अस्पताल नबनाएर कार्यालय बनाएको हो ।

१६ शैयाको अस्पतालको स्वीकृति कार्यान्वयन भएन
हेल्पिंग हेन्ड्स अस्पताल सञ्चालन भएको सो ठाउँमा १६ शैयाको नगरस्तरीय अस्पताल बनाउन स्थानीय चुनावअघि तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाले स्वीकृति दिलाएका थिए । तर, निर्वाचित जनप्रतिनिधिले बेवास्ता गर्दै भवनको दुरुपयोग गरेको नगरका काँग्रेस नेताहरुले आलोचना गरेका हुन् ।

६ भाद्र २०७७, शनिबार