टोखा चण्डेश्वरी अस्पतालमा बन्यो १७ बेडको आइसोलसन, सय शैया पुर्याउने योजना

तारकेश्वर, ६ भदौ । टोखा नगरपालिकामा कोभिड १९ संक्रमित संख्या बढ्न थालेपछि संक्रमित र शंकास्पद बिरामीलाई राख्नको लागि टोखा चण्डेश्वरी अस्पतालमा १७ बेडको आइसोलेसन बनाइएको छ ।

टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दीपकराज जोशी र नगरपालिकाको संयोजकत्वमा टोखाको सामुदायिक अस्पतालमा १७ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको हो ।

टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले उक्त स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसन सेन्टरको शनिवार उद्घाटन गरेका छन् । सो क्रममा अधिकारीले यथासिघ्र अस्पताललाई १०० शैयामा पुर्‍याउने र अन्य वडाहरुमा पनि आइसोलेसन वार्ड विस्तार गर्ने दावी गरे ।

कार्यक्रममा नगरकी उपप्रमुख ज्ञान माया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल,स्वास्थ्य शाखा प्रमुख रणलाल खुलाल ,वडाअध्यक्ष तथा वडा सदस्यहरु सहभागी थिए ।

केन्द्रमा हाल १७ आइसोलेसन बेड रहेको र आवस्यकता अनुसार थप्दै लैजान सकिने उपप्रमुख ज्ञानमाया डंगोलले बताइन् । पहिलो चरणमा ३० वटासम्मको आइसोलेसन बेड संचालन गर्ने तयारी रहेको उनको भनाइ छ ।

६ भाद्र २०७७, शनिबार