तारकेश्वरमा कोरोना संक्रमित ५४ जना पुगे, ९ जना निको भए

तारकेश्वर, ७ भदौ । तारकेश्वर नगरपालिकाभित्र कोरोना भाइरस संक्रमित हुनेको संख्या ५४ पुगेको छ ।

नगर स्वास्थ्य शाखाले तयार गरेको आंकडा अनुसार नगरपालिका भित्र संक्रमितको संख्या ५१ पुगेको हो । सो आंकडामा सांग्लामा भेटिएका एकै परिवारको तीनजनाको तथ्यांक समावेश गरिएको छैन ।

संक्रमित भएका मध्ये ४ जना पुरुष र ५ जना महिलालाई निको भएको छ भने बाँकी सक्रिय संक्रमित रहेका छन् । नगरपालिकाको आंकडा अनुसार वडा नं १० मनमैजुमा सबैभन्दा धेरै २० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै वडा नं ५ गोलढुंगामा १३ जनालाई कोरोना संक्रमण भएको छ । संक्रमण भएकामध्ये मनमैजु १० का ५ जना र गोलढुंगाका ४ जना कोरोना भाइरस मुक्त भएको नगर स्वास्थ्य शाखाले तारकेश्वर अनलाईनलाई जानकारी दियो ।

त्यसबाहेक नगरको वडा नं ११ नेपालटार र वडा नं ८ मनमैजुमा ६-६ जनालाई भाइरसको संक्रमण देखिएको छ । वडा नं २ मा २ जना, वडा नं ४ मा ३ जना र वडा नं ९ मनमैजुमा १ जना सक्रिय संक्रमित रहेको नगरपालिकाको आंकडा रहेको छ । यस बाहेक नगरको वडा नं १ सांग्लामा एकैपरिवारका तीनजनालाई कोरोना भाइरसको संक्रमण भएको वडा कार्यालयले यसअघि नै पुष्टि गरिसकेको छ ।

नगरमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपनि नगर कार्यपालिका भने सम्भावित जोखिम व्यवस्थापनका निम्ति तयार नभएको भनेर आलोचना हुन थालेको छ । नगरले संक्रमितलाई राख्न नगरस्तरीय आइसोलेसन वार्ड तयार गर्ने भनेको लामो समय भएपनि हालसम्म कुनै व्यवस्थापन भएको छैन । जबकी तारकेश्वरको छिमेकी टोखा नगरपालिकाले १७ शैयाको आइसोलेसन सुरु गरेर आवश्यक्ता अनुसार बढाउन सकिने जनाइसकेको छ ।

७ भाद्र २०७७, आईतवार