तारकेश्वर नगरमा कोरोना संक्रमित ६२ जना पुगे, केहीको विवरण आउन बाँकी
तारकेश्वर, ८ भदौ । तारकेश्वर नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या उकालो लाग्न थालेको छ ।
आइतवारसम्म ५४ जना रहेको कोरोना संक्रमितको संख्या बढेर सोमबारसम्म ६२ पुगेको छ । त्यस्तै विभिन्न वडामा कोरोना संक्रमित थपिएको प्रारम्भिक तथ्यांक आएपनि आंकडामा थप भएको छैन । यस हिसावले नगरमा भोलिसम्म संक्रमितको तथ्यांक ७० नाघ्ने नगरपालिकाको स्वास्थ्य शाखाले तारकेश्वर अनलाईनलाई जानकारी दियो ।
६२ जनाको आंकडामा सोमबार जीतपुर फेदीमा संक्रमण देखिएकी महिलालाई जोडिएको छैन । उनको मनमोहन अस्पताल स्वयम्भूमा परीक्षण गरेर पोजेटिभ देखिएपनि नगरपालिकाको स्वास्थ्य शाखामा विवरण नआइसकेको जनाइएको छ । यसबाहेक आजै धेरै कोरोना संक्रमित भएका वडामध्येको एक ५ नं वडामा पनि कम्तिमा ३ जना संक्रमित थपिएको नगरपालिकाको स्वास्थ्य शाखा स्रोतले जनाएको छ । यद्यपी उनीहरुको पूरा विवरण पनि आइसकेको छैन ।
त्यस्तै वडा नं ८ मा थप दुईजनालाई संक्रमण देखिएको छ । उनीहरुको पनि तथ्यांक संकलन भैसकेको छैन । वडा नं ९ मा पनि कम्तिमा ३ जना नयाँ संक्रमित थपिएको प्रारम्भिक जानकारी नगरपालिकाले पाएको छ ।
७९ स्वाब परीक्षणमा ६ जनालाई पोजेटिभ
नगरपालिकाले यसअघि कोरोना संक्रमित भएकाहरुको सम्पर्कमा रहेका ७९ जनाको स्वाब अघिल्लो साता संकलन गरेर परीक्षणमा पठाएको थियो । ती मध्ये ६ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।
कुन वडामा कति पुगे ?
तारकेश्वर नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दैछ । हालसम्म नगरपालिकाको वडा नं १० मा सबैभन्दा धेरै संक्रमित रहेका छन् । कुन वडामा कति संक्रमित ?
वडा नं १-३ जना
वडा नं २ -२ जना
वडा नं ३- ० जना (सोमबार थपिएको महिलाको विवरण जोडिएको छैन ।)
वडा नं ४ -३ जना
वडा नं ५ -१३ जना
वडा नं ६ -० जना
वडा नं ७- ० जना
वडा नं ८ -५ जना
वडा नं ९ -७ जना
वडा नं १० -२२ जना
वडा नं ११- ७ जना
स्वाब परीक्षण गर्न नगरलाई मुस्किल
कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै तारकेश्वरका स्थानीय त्रसित भएका छन् । त्रसित भएसँगै स्थानीयले जनप्रतिनिधिमार्फत स्वाव परीक्षण गराइदिन नगरपालिकालाई आग्रह गर्न थालेका छन् । तर, स्वाब धेरै संकलन गर्न नसक्ने अवस्था भएपछि नगरपालिकाको स्वास्थ्य शाखाले धैर्यता राख्दै सुरक्षित भएर बस्न नगरवासीलाई आग्रह गरेको छ । धेरैतिरबाट स्वाब लिन दवाव आएपछि नगरपालिकाले यो हप्ता कन्ट्याक्ट ट्रेसिंगबाट आएकाहरुको हालसम्म स्वाब संकलन गरेको छैन ।