तारकेश्वर-९ मा निषेधाज्ञा अवज्ञा गर्ने पसलमा ताल्चा ठोकिने

तारकेश्वर, ९ भदौ । नेपाल सरकारले जारी गरेको निषेधाज्ञा फितलो भएपछि त्यसको सशक्त कार्यान्वयनका लागि तारकेश्वरका वडाहरुले अग्रसरता देखाएका छन् ।
संघीय सरकारको बाहेक स्थानीय सरकारले समेत जारी गरेको निषेधाज्ञा कार्यान्वयनमा सर्वसाधारणले उदासिनता देखाएपछि तारकेश्वर नगरपालिकाको वडा नं ९ ले कडा कदम चाल्ने बताएको छ ।

सो वडामा तोकिएको समय बाहेक पसल खोलिएमा बुधवारदेखि ताल्चा लगाएर भएपनि बन्द गराइने वडाध्यक्ष बलराम सिटौलाले तारकेश्वर अनलाईनलाई जानकारी दिए । सो भन्दा अघि वडाका टोल सुधार समिति, प्रहरी, क्लब लगायतको सक्रियतामा माइकिंग गर्ने र अटेर गर्नेहरुको पसल सटर बन्द गराउने तयारी गरिएको हो । तानपामा मात्र ६० जनाभन्दा बढि कोरोना संक्रमित पहिचान भैसकेको अवस्थामा संघीय र स्थानीय सरकारले जारी गरेको निषेधाज्ञा भने फितलो देखिएको छ ।

तारकेश्वर नगरपालिका वडा नं ९ मा हालसम्म ७ जनालाई कोरोना संक्रमण पुष्टि भैसकेको छ भने केही बिरामी नयाँ थपिएको प्रारम्भिक आंकडा आएको छ ।

यसअघि नगरपालिकाको सोमबार बसेको नगरकार्यपालिकाको बैठकले पनि सबै वडाहरुमा टोल सुधार समिति, प्रहरीलगायतको सहयोगमा माइकिंग गर्ने र निषेधाज्ञा कडा गराउने निर्णय गरेको थियो । नगरले कोरोना संक्रमितको परिवारमा मास्क, स्यानिटाइजर लगायत सुरक्षा सामाग्री पनि दिने निर्णय गरेको थियो ।

९ भाद्र २०७७, मंगलवार