जीतपुर फेदीको कोरोना संक्रमितको घर वरिपरि सिल गरियो, १३ गतेसम्म निषेधाज्ञा
तारकेश्वर, ९ भदौ । तारकेश्वर नगरपालिका वडा नं ३ जीतपुरफेदीमा कोरोना संक्रमण देखिएको व्यक्तिको घर भएको क्षेत्रमा सिल गरिएको छ ।
कोभिड १९ को एकजना संक्रमित ब्यक्ति भेटिएपछि घर सिल गरिएको हो ।भदौ ९ गतेदेखि १३ गते सम्मका लागि घर शिल गरिएको वडा कार्यालयले जनाएको छ । सिल गर्नुका साथै संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ब्यक्तिको पहिचान गरि शुक्रबारसम्म स्वाब संकलन गरि पीसीआर परीक्षण गराइने वडा न ३ का वडाध्यक्ष मनोहरी तिवारीले तारकेश्वर अनलाइनलाई जानकारी दिए ।
तारकेश्वर नगरपालिकाभित्र आइतवारसम्म शुन्य संक्रमित रहेको ३ नं वडामा पनि संक्रमण देखिएपछि वडा कार्यालयको अग्रसरतामा उच्च सतर्कता अपनाइएको हो ।
सिल गरिएको क्षेत्रमा पूर्वतर्फ जीतपुर मुक्तेश्वर मन्दिर, पश्चिमतर्फ भोलाप्रसाद जमकट्टेलको घरसँगैको खोल्सा, उत्तरतर्फ तीनपिप्ले रामघाट सडक खण्डको पैयुंबोट खण्ड र दक्षिणतर्फ सत्यशक्ति मन्दिरसम्मलाई निषेधित क्षेत्र तोकिएको छ । सो क्षेत्रमा आवतजावत गरे संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गर्ने भन्दै वडाकार्यालयले सचेत गराएको छ ।